काठमाण्डु – सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा मापदण्ड तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धनको बैठकले उम्मेदवार सिफारिस गर्नेसम्बन्धी आधार र मापदण्ड तय गरेको हो ।
मंगलबारको बैठकले बनाएको मापदण्डअनुसार नै अब तल्ला तहका समितिहरुले उम्मेदवार सिफारिस गर्ने नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
महानगरपालिकाका उम्मेदवार सिफारिस र भागबण्डाका विषयमा भने निर्णय गर्न फेरि बैठक बस्ने कार्कीको भनाइ छ । ‘आजको बैठकले मापदण्ड बनाइएको छ । त्यसको आधारमा तल्ला तहहरूले टुङ्गो लगाउने छन्,’ उनले भने, ‘महानगरका लागि फेरि गठबन्धनको बैठक बसेर निर्णय गरिन्छ ।’
यस्ता छन् चुनावी तालमेलका मापदण्ड :
१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।
५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।
६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।
सात आधार :
१. २०७४ सालमा विजयी माओवादी र समाजवादीका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।
२. २०७४ सालको निर्वाचनमा पाएको मतको मतभारलाई आधार बनाउने ।
३. २०७४ सालमा विजयी नभएका अन्य दललाई पनि यथासक्य सहभागी गराउने।
४. गठबन्धनबाहेक अन्य दल निर्वाचित स्थानमा गठबन्धनका दलले पाएको मतलाई आधार बनाउने। उक्त दलले पाएको मतभारलाई पनि आधार बनाउने ।
५. समाजवादीको हकमा बुँदा ४ मा उल्लेखित आधारबाहेक ऊ मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।
६. जनसमर्थनलाई पनि ध्यान दिने ।
७. गठबन्धनबीच मात्र चुनावी तालमेल हुने ।




प्रतिक्रिया