काठमाण्डु- नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा अमेरिकी सांसदहरुले नेपालको भ्रमण गर्ने भएका छन् । डेमोक्रयाटिक पार्टीकी प्रभावशाली नेतृ एवंम् सिनेटर कस्र्टन गिलव्राण्डको नेतृत्वमा अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्य र अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरु शुक्रबार नेपाल आउंन लागेका हुन्।
भ्रमण दलमा सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड,उड मार्की र मोन्ड्री जोन्स छन् । उनिहरू आईतबारसम्म नेपाल भ्रमणमा रहनेछन् । अमेरिकी सांसदको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खडकासंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनिहरू पोल्याण्ड,जर्मनी भारत हुंदै नेपाल भ्रमणमा आउनेछन् । अमेरिकी प्रतिनिधीमण्डलको भ्रमणको उद्देश्य द्धिपक्षीय सम्बन्धलाई मजबूत बनाउन र युक्रेन मामिलामा समर्थन जुटाउने रहेको बताइन्छ ।
नेपालले युक्रेन संकटबारे भएको चार वटा मतदानमा युक्रेनको पक्षमा मत दिएपछी अमेरिका त्यसमा खुसी छ । नेपालको संसदबाट एमसीसी पारित भएसंगै पछिल्लो समय अमेरिकाबाट उच्च तहका भ्रमणहरू भइरहेका छन् ।
अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप सहायक विदेशमन्त्री केली किडरलिंग नेपाल भ्रमणमा रहेकै बेला अमेरिकी सांसदहरुको टोली नेपाल आउन लागेको हो ।
नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र अमेरिकाबाट विदेशमन्त्री एन्टोनी ब्लिन्केनको भ्रमणको तयारी समेत सुरु भएको स्रोतको दावी छ । देउवालाई वासिङटनमा उच्च तहको सम्मान गर्ने कार्यक्रम समेत छ ।




प्रतिक्रिया