प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धन कति बलियो ? यस्तो छ चुनावी अंकगणित

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धन कति बलियो ? यस्तो छ चुनावी अंकगणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डडेल्धुरा प्रधानमन्त्री एवं कांग्रेस सुप्रिमो शेरबहादुर देउवाको गृहजिल्ला हो । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई नगरपालिकासहित सातवटा स्थानीय तह छन् । प्रधानमन्त्रीको गृहजिल्ला भएकाले यहाँको चुनावलाई पनि चासोका साथ हेरिएको छ । डडेल्धुरामा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ ।

०७४ सालको चुनावमा जिल्लाका धेरै स्थानीय तहमा कांग्रेसले वर्चस्व स्थापित गरेको थियो । सातमध्ये उसले चारवटा पालिका जित्यो । एमालेले दुई र माओवादीले एउटामा जित निकाले । परशुराम नगरपालिकाको मेयर–उपमेयर, आलीताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै कांग्रेसले जित्यो ।

यस्तै, उसले नवदुर्गा गाउँपालिकामा उपाध्यक्षसमेत आफ्नो पोल्टामा पा¥यो । सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकाको मेयर–उपमेयर नै एमालेले जित्यो । उसले नवदुर्गा गाउँपालिकाको अध्यक्षमा पनि बाजी मार्‍याे। माओवादीले भने अजयमेरु गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष जितेको थियो । त्यहाँ उसले एक्लै लडेर कांग्रेस र एमालेलाई पछि पारेको थियो ।

काठमाडौंमा कांग्रेस र माओवादीबीच चुनावी तालमेलको वार्ता भइरहेको छ । तर, डडेल्धुरामा भने यिनै दुई दलबीच धेरै स्थानमा प्रतिस्पर्धा देखिन्छ । कांग्रेसले जितेकामध्ये अधिकांशमा माओवादी दोस्रो भएको छ । आगामी चुनावमा पनि जिल्लामा कांग्रेसले नै पकड बनाउने सम्भावना छ । यसपटक एमालेसमेत विभाजन भएकाले त्यसको फाइदा पनि उसले उठाउनेछ ।

यदि सत्तासाझेदार दलबीच तालमेल भएमा जिल्लाका सबै स्थानीय तहमा जित्ने सम्भावना छ । किनकि एमालेले जितेका दुई तहमा पनि कांग्रेस र माओवादी मिल्दा बढी मत हुन्छ । जिल्लाभर नै कांग्रेस र माओवादीबीच तालमेल हुने सम्भावना भने कम देखिन्छ । एमालेले जितेका अमरगढी र नवदुर्गामा दुई दल मिल्न सक्छन् । त्यसो भयो भने एमालेको हातबाट यी दुवै पालिका फुत्कन सक्नेछन् ।

प्रधानमन्त्री र पार्टी सभापतिको जिल्ला भएकाले यसलाई कांग्रेसले प्रतिष्ठाको विषय बनाउने गरेको छ । समग्रमा प्रधानमन्त्रीको जिल्लामा कांग्रेसले फेरि पनि पकड जमाउने सम्भावना छ । एमालेले पुरानो नतिजा दोहोर्‍याउन सके सन्तोष मान्नेछ ।

माओवादीले कांग्रेससँग तालमेल गरेर केही पद बढाउन सक्नेछ । एकीकृत समाजवादी भने कुनै पनि तहमा चुनाव जित्ने अवस्थामा पुगेको देखिँदैन । डडेल्धुरामा आगामी चुनावका लागि ९० हजार १ सय १९ मतदाता छन् । तीमध्ये ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ महिला छन् ।