काठमाण्डु नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वदेश आएर अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीलाई क्रमैसँग फर्काउन गृहकार्य भइरहेको बताएकी छन् ।
बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले कोरोना भाइरस महामारीका कारण वदेश आएर अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीलाई क्रमैसँग फर्काउन गृहकार्य भइरहेको बताएकी हुन् ।
उनले कोभिडका कारण नेपाली बिद्यार्थी मात्र नभई अन्य देशका विद्यार्थी पनि चीन फर्किन नपाएको जनाएकी छन् । उनले भनिन्, ‘नेपाली विद्यार्थीलाई क्रमैसँग हामी चीन फर्काउनेछौं । त्यसअन्तर्गत पहिलो ब्याचका विद्यार्थी चाँडै चीन जानेछन्। यस विषयमा दुई देशका विदेश मन्त्रालय निरन्तर कुराकानीमा छन् ।’
नेपाली विद्यार्थी चीन फर्केर पढ्न नपाए पनि अनलाइनका माध्यमबाट अध्ययन जारी राखेको उनको भनाइ छ । कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर करिब दुई हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । स्वदेश फर्किएका विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन समेत दिएका थिए ।




प्रतिक्रिया