काठमाण्डु – कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लामा ११ वटा स्थानीय तह छन् । त्यसमा चारवटा नगरपालिका छन् भने सातवटा गाउँपालिका । कर्णालीको कुनै जिल्लामा यति धेरै नगरपालिका अचम्मलाग्दो सुनिन्छ । तर, दैलेख कर्णालीमा भए पनि सुगम जिल्ला नै मानिन्छ । जिल्लामा मुख्यतः कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिन्छ । यहाँ नेमकिपाको पनि केही पालिकामा प्रभाव छ ।
अघिल्लो स्थानीय चुनावलाई आधार मान्ने हो भने दैलेखमा एमाले नै पहिलो पार्टी देखिन्छ । ११ मध्ये सातवटा पालिकामा उसले जित निकालेको छ । बाँकी चारमा कांग्रेस अघि छ । माओवादीले भने कुनै पनि पालिका जितेको छैन । तर, धेरै तहमा उसको मत निर्णायक देखिन्छ । एमालेले चामुण्डा–विन्द्रासैनी र नारायण नगरपालिकामा मेयर–उपमेयर जितेको छ ।
उसले ठाँटीकाँध, भगवतीमाई, भैरवी र महाबु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । त्यसबाहेक एमालेले आठबिस नगरपालिकामा मेयर र दुल्लु नगरपालिकामा उपमेयर पनि जितेको छ । कांग्रेसले गुँरास, नौमुले र डुंगेश्वर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको छ । उसले दुल्लु नगरपालिकाको मेयर र आठबिस नगरपालिकाको उपमेयर पनि जितेको छ ।
तर, अब यी सबैको कार्यकाल लगभग सकिने अवस्थामा छ । भावी नेतृत्वका लागि होडबाजी सुरु भएको छ । कांग्रेस र माओवादीबीच तालमेल भए जिल्लामा एमालेले केही स्थानीय तह गुमाउनुपर्ने हुन सक्छ । एमालेले अध्यक्ष–उपाध्यक्ष जितेको भगवतीमाई, ठाँटीकाँध र महाबु गाउँपालिकामा कांग्रेस र माओवादीको मत मिल्दा बढी हुन्छ ।
यस्तै, चामुण्डा नगरपालिकामा पनि सत्ता गठबन्धनबीच तालमेल भए एमाले पछि पर्न सक्छ । भैरवी गाउँपालिकामा भने कांग्रेस र माओवादी मिले पनि एमालेलाई हराउन मुस्किल देखिन्छ । आठबिस नगरपालिकामा कांग्रेस र माओवादी मिले मेयर पनि एमालेबाट फुस्किन सक्छ । दुल्लु र नारायण नगरपालिका पनि कांग्रेस र माओवादी मिलेमा एमाले पछि पर्न सक्छ ।
दैलेखमा एमाले विभाजनको प्रभाव पनि उल्लेख्य परेको छ । एक पालिका प्रमुख र तीन उपप्रमुख एकीकृत समाजवादीतिर लागेका छन् । त्यसैले एकीकृत समाजवादीले पनि गठबन्धन गर्दा तीनवटा स्थानीय तह पाउनुपर्ने माग गरिरहेको छ । जिल्लामा गठबन्धन सफल भयो भने एमाले एउटा मात्रै स्थानीय तहमा खुम्चनुपर्ने अवस्था पनि आउन सक्छ । किनकि अधिकांशमा कांग्रेस र माओवादी मिल्दा नै एमालेभन्दा बढी हुन्छ ।
त्यसमा एकीकृत समाजवादी थपिँदा एमाले झन् संकटमा पर्छ । तर, अहिलेसम्म गठबन्धन दलबीच पदीय बाँडफाँडको टुंगो भने लागेको छैन । दैलेखमा १ लाख ५८ हजार ४ सय ८९ मतदाता छन् । तीमध्ये ७८ हजार ९ सय १९ पुरुष र ७९ हजार ५ सय ७० महिला छन् ।





प्रतिक्रिया