काठमाण्डु – गण्डकी प्रदेशको म्याग्दी जिल्लामा एक नगरपालिकासहित ६ स्थानीय तह छन् । ०७४ को स्थानीय निर्वाचनमा ६ पालिकामध्ये चार पालिका जितेर कांग्रेस पहिलो शक्ति बनेको थियो । एमालेले दुई पालिका जितेर दोस्रो शक्ति बनेको थियो ।
जिल्लामा तेस्रो शक्ति माओवादीले भने कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेन । गत स्थानीय तहको मतपरिणामअनुसार यसपटक पनि जिल्लामा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, त्यतिबेला कतिपय पालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । कतिपयमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । कांग्रेसले अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिका जितेको थियो ।
तर, बेनी नगरपालिकाको मतपरिणाम भने रोचक छ । बेनी नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवारले जम्मा ४५ मतान्तरले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । यो पालिकामा एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । एमालेसँग तालमेल गर्दा उपमेयर पाएको राप्रपाले माओवादीबाट उपमेयरका उम्मेदवारलाई ३४ मतान्तरले पराजित गरेका थिए ।
एमालेले धवलागिरि र मंगला गाउँपालिका जितेको थियो । अहिले पनि अन्य पालिकाभन्दा धवलागिरि गाउँपालिकामा एमाले बलियो देखिन्छ । किनभने त्यतिबेला कांग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमाले एक्लैले जितेको थियो । यसपटक पार्टी विभाजनका कारण एकीकृत समाजवादीले केही मत काट्न सक्ने चिन्ता एमालेलाई छ ।
त्यसमाथि सत्ता गठबन्धन दलबीच तालमेल गरेर जाने सैद्धान्तिक सहमति पनि भएको छ । तर, दलहरूका आ–आफ्नै दाबी र अडानका कारण भागबन्डामा सहमति भने हुन सकेको छैन । गठबन्धनबीच तालमेल नभई एक्लाएक्लै चुनाव लडे एमालेका लागि केही सहज हुने देखिन्छ । यसबाहेक थपिएका मतदाता र उम्मेदवारको प्रभावले पनि परिणाम प्रभावित हुन सक्नेछ ।
जिल्लामा आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि ८५ हजार ३ सय ७५ मतदाता छन् । तीमध्ये ४१ हजार ४ सय १४ पुरुष र ४३ हजार ९ सय ६० महिला छन् । एकजना अन्य छन् । स्थानीय निर्वाचनमा भाग लिन ६ राष्ट्रिय दलबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १४ दल दर्ता छन् ।










प्रतिक्रिया