कठमाण्डु – गण्डकी प्रदेशको तनहुँ जिल्ला भानुभक्त आचार्यका कारण पनि सबै नेपालीको जिब्रोमा झुन्डिने जिल्ला हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा चुनावी चटारो बढेको छ । त्यसो त यो जिल्ला अहिलेका श्रममन्त्री एवं एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको पनि गृहजिल्ला हो ।
गत संसदीय चुनावमा श्रेष्ठले नै पौडेललाई पराजित गरेका थिए । जिल्लामा चारवटा नगरपालिका र ६ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तह छन् । प्रजातन्त्र स्थापनादेखि नै कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहेको यो जिल्लामा पछिल्लोपटक एमालेले उल्लेख्य प्रगति गरेको छ । यद्यपि, पार्टी विभाजनले भने एमाले पनि समस्यामा देखिन्छ । अघिल्लो स्थानीय चुनावमा कांग्रेसले ६ वटा पालिकामा जित निकालेको थियो । एमालेले तीन र माओवादी केन्द्र एउटा पालिकामा विजयी भए ।
अहिले पनि जिल्लामा कांग्रेस नै पहिलो शक्ति हो । गत चुनावमा उसले सदरमुकामसमेत रहेको व्यास नगरपालिकामा मेयर–उपमेयरसहित अधिकांश वडामा फराकिलो अन्तरको जित निकालेको थियो । यस्तै, भानु नगरपालिकाको मेयर–उपमेयरका साथै कांग्रेसले म्याग्दे, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । कतिपय गाउँपालिकामा त एमाले र माओवादी मिल्दा पनि कांग्रेसलाई हराउन सकेनन् ।
उसले शुक्लागण्डकी नगरपालिकाको मेयर तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष पनि जित्यो । एमालेले भिमाद नगरपालिकाको मेयर-उपमेयर तथा घिरिङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । उसले देवघाट गाउँपालिकामा अध्यक्ष पनि जितेको थियो । माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्यो । अन्यत्र उसको प्रदर्शन कमजोर देखियो । देवघाटमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसले निकै कम मतान्तरले जितेका थिए । उपाध्यक्ष त जम्मा एक मतले विजयी भएका थिए ।
तनहुँमा आगामी वैशाख ३० गते हुने चुनावको जोडघटाउ चलिरहेको छ । जिल्लामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । कांग्रेसले जितेका अधिकांश पालिकामा मतान्तर बढी रहेकाले ऊ फेरि पनि ढुक्क देखिन्छ । संघीय सत्ता चलाइरहेका दलबीच तालमेलको प्रयास भए पनि तनहुँमा सफल हुन सकेको छैन । सबै दलले उम्मेदवारी दिएका छन् । एमालेले कांग्रेसका गोविन्दराज जोशी समूहसँग तालमेल गरेपछि तनहुँ फेरि चर्चामा छ । रामचन्द्र पौडेलसँग ३६ को सम्बन्ध भएका जोशीको कुनै पालिकामा सामान्य प्रभाव छ ।
यसपटक एमाले विभाजन भएको मौकामा कांग्रेसले प्रभाव बढाउने प्रयास गरिरहेको छ । एमालेले पनि कांग्रेसकै असन्तुष्टलाई हातमा लिएर चौका दाउ हान्ने रणनीति अपनाएको देखिन्छ । तर, जेसुकै भए पनि तनहुँमा कांग्रेसलाई हराउन त्यति सजिलो छैन । एमालेबाट जितेका सांसद किसान श्रेष्ठ अहिले एकीकृत समाजवादीमा लागेर मन्त्री नै बनेका छन् । उनी जिल्लामा एमाले हराउन सक्रिय देखिन्छन् । पाँच दलबीच गठबन्धन भयो भने एमाले एउटा मात्रै पालिकामा खुम्चन सक्छ । भएन भने तीनवटा गाउँपालिकामा एमाले प्रतिस्पर्धी दल हो ।
अहिलेसम्म हेर्दा भिमाद र घिरङ गाउँपालिकामा मात्रै एमाले बलियो देखिन्छ । तर, त्यहाँ पनि एकीकृत समाजवादीले कति मत काट्छ भन्ने यकिन छैन । माओवादी बन्दीपुरमा मात्रै प्रतिस्पर्धी दल हो । त्यहाँ उसको कांग्रेससँगै प्रतिस्पर्धा छ । माओवादीका लागि त्यही पालिका जित्न सके नै ठूलो उपलब्धि हुनेछ । यसरी हेर्दा आगामी चुनावमा जिल्लाका धेरै पालिकामा फेरि पनि कांग्रेसले नै वर्चस्व जमाउने देखिन्छ । तनहुँमा आगामी चुनावका लागि २ लाख ४ हजार ३ सय ४० मतदाता छन् । तीमध्ये १ लाख १७ हजार १ सय ३४ पुरुष र १ लाख २७ हजार २ सय ६ महिला छन् ।














प्रतिक्रिया