काठमाण्डु – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि आवेदन माग गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले शुक्रबार साँझ सूचना प्रकाशित गर्दै यही बैशाख १९ पछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि डीआईजीहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र गृह मन्त्रालयमा बुझाउन भनेका छन् ।
आइतबार मध्यरातदेखि आइजीपी केसी र एआईजी रामशरण पौडेल तीसवर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । केसीको अवकाशपछि सरकारले एआईजी राजु अर्याललाई आइजीपीमा नियुक्त गर्नेछ ।
सशस्त्र प्रहरी बलमा रिक्त हुने दुई एआईजी पदको लागि डीआईजी नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशी दाहाल प्रमुख दावेदार हुन् ।
वरियतामा पौडेल अघि छन् भने त्यसपछी गौतम र दाहाल छन् । गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् भने पौडेल र दाहाल नेपाल प्रहरीबाट आएका हुन् ।
गौतम सैनिक अधिकृतका रुपमा नेपाली सेनामा २०५२ वैशाखमा भर्ना भएका थिए । पौडेल र दाहाल भने २०५४ चैत्रमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका हुन् ।





प्रतिक्रिया