बाजुरामा कांग्रेस बलियो, एकीकृत समाजवादीका कारण एमाले अप्ठेरोमा

बाजुरामा कांग्रेस बलियो, एकीकृत समाजवादीका कारण एमाले अप्ठेरोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुरामा तीनवटा नगरपालिकासहित नौवटा स्थानीय तह छन् । अघिल्लो चुनावको परिणामका आधारमा जिल्लामा कांग्रेसको वर्चस्व छ । उसको मुख्य प्रतिस्पर्धा एमालेसँग देखिन्छ । जिल्लामा माओवादी कमजोर भए पनि निर्णायक अवस्थामा छ ।

०७४ सालको चुनावमा कांग्रेसले ६ वटा पालिका जितेको थियो । बाँकी तीनवटा एमालेले जित्यो भने माओवादीले एउटै जित्न सकेन । कांग्रेसले बुढीगंगा र त्रिवेणी नगरपालिकाको मेयर–उपमेयरसहित छेडेदह, हिमाली र बडिमालिका गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै जित्यो । यस्तै, उसले बुढीनन्दा नगरपालिकाको मेयर पनि जित्यो । एमालेले पाण्डवगुफा, स्वामीकार्तिक र गौमुल गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा बुढीनन्दा नगरपालिकामा उपमेयर जितेको थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि दलहरूले उम्मेदवारी मनोनयन गरेका छन् । अघिल्लो निर्वाचनमा अधिकांश गाउँपालिकामा माओवादी तेस्रो भएको थियो । गत चुनावको मतान्तर हेर्ने हो भने कांग्रेस केही सहज अवस्थामा देखिन्छ । किनकि एमालेमा आएको विभाजनको असर बाजुरामा पनि परेको छ । एमालेले फराकिलो मतान्तरले जितेको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहित केही वडाध्यक्ष पनि एकीकृत समाजवादीमा लागेका छन् । अन्य तहमा पनि एकीकृत समाजवादीले एमालेको भोट काट्ने देखिन्छ ।

जिल्लामा सत्तासाझेदार दलबीच मिलेर जाने सहमति भएको थियो । तर, उम्मेदवारी दर्ताका क्रममा त्यसको पूर्ण रूपमा पालना भएको छैन । गठबन्धन भए पनि नभए पनि बाजुरामा कांग्रेस नै मजबुत देखिन्छ । एमालेले जितेका तीनमध्ये दुईमा कांग्रेस र माओवादीको मत मिलाउँदा बढी हुन्छ । तर, गठबन्धन भएन भने पनि एमालेलाई एकीकृत समाजवादीका कारण तीनवटै पालिका बचाउन भने सकस छ ।

गठबन्धन कार्यान्वयन भए जिल्लाका सबै पालिका उसैले जित्ने सम्भावना पनि छ । यद्यपि, एमालेले आफूहरूले कम्तीमा चारवटा पालिका जित्ने दाबी गरिरहेको छ । समग्रमा बाजुरामा कांग्रेस सहज अवस्थामा छ भने एमाले र अन्य दल अप्ठेरो अवस्थामा देखिन्छन् । जिल्लामा ८२ हजार ६ सय ९० मतदाता छन् । तीमध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला छन् ।