सल्यानमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल, एमालेलाई पुरानो नतिजा दोहोर्‍याउन कठिन

सल्यानमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल, एमालेलाई पुरानो नतिजा दोहोर्‍याउन कठिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशमा रहेको सल्यान जिल्लामा दुईवटा नगरपालिकासहित १० वटा स्थानीय तह छन् । जिल्लामा कांग्रेस, एमाले र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दल हुन् । ०७४ सालको चुनावका आधारमा एमाले ठूलो दल हो । माओवादी दोस्रो र कांग्रेस तेस्रो अवस्थामा देखिन्छ ।

१० मध्ये एमालेले चार तथा कांग्रेस र माओवादीले समान तीनवटा पालिका जितेका छन् । यद्यपि, गत चुनावमा कतिपय स्थानीय तहमा माओवादीका विरुद्ध कांग्रेस र एमालेले तालमेल गरेका थिए । एमालेले कपुरकोट, कालिमाटी र सिद्ध–कुमाख गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र वनगाड–कुपिन्डे गाउँपालिकामा अध्यक्ष जितेको थियो ।

माओवादीले बागचौर नगरपालिकाको मेयर–उपमेयरसहित कुमाखमालिका र दार्मा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा वनगाड–कुपिन्डे गाउँपालिकाको उपाध्यक्ष जित्यो । दार्मा र वनगाडमा कांग्रेस र एमाले मिलेर लडेका थिए । कांग्रेसले शारदा नगरपालिकाको मेयर–उपमेयर तथा त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै जित्यो ।

आगामी वैशाख ३० गते हुने चुनावका लागि सल्यानमा सत्ता साझेदार दलबीच गठबन्धन नबन्ने देखिएको छ । तर, माओवादी र एकीकृत समाजवादीले भने १० वटै तहमा तालमेल गरेका छन् । तालमेलअनुसार माओवादीले ६ वटा पालिकाको प्रमुख र एकीकृत समाजवादीले चारवटाको प्रमुख पाएको छ । जिल्लामा एमाले विभाजनको प्रभाव पनि उल्लेख्य मात्रामा परेको छ । एमालेका चर्चित नेता प्रकाश ज्वालालगायत एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

माओवादीले जितेका पालिकामा मतान्तर फराकिलो देखिन्छ । कांग्रेस र एमाले मिल्दासमेत उसले एउटा पालिका जितेको छ । त्यसैले उसले पुरानो जित कायम राख्ने निश्चितजस्तै देखिन्छ । तीनवटामा कांग्रेस मजबुत छ । अन्यमा भने प्रतिस्पर्धा देखिन्छ । एमालेले पहिले जितेका चारमध्ये एकीकृत समाजवादीका कारण दुईवटा पालिका गुमाउन सक्छ ।

समग्रमा जिल्लामा एमालेलाई नै बढी चुनौती देखिन्छ । उसको परिणाम एकीकृत समाजवादीले काट्ने भोटको संख्याले निर्धारण गर्नेछ । सल्यानमा जम्मा १ लाख ५७ हजार ७ सय १५ मतदाता छन् । तीमध्ये ७९ हजार ९ सय ४ पुरुष र ७७ हजार ८ सय ११ महिला छन् ।