काठमाण्डु – काठमाण्डुको चन्द्रागिरि नगरपालिकामा ३३ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाण्डु प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ जनाले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।
चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन् । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेका छन् ।
बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो । अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया