सुर्खेतमा कांग्रेस सहज अवस्थामा, एमालेको नतिजा एकीकृत समाजवादीमा निर्भर

सुर्खेतमा कांग्रेस सहज अवस्थामा, एमालेको नतिजा एकीकृत समाजवादीमा निर्भर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा स्थानीय चुनावको माहोल तातेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पाँचवटा नगरपालिकासहित नौवटा स्थानीय तह छन् । यो जिल्लामा मुख्यतः कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा छ । तर, माओवादीको मत पनि निर्णायक अवस्थामा देखिन्छ ।

०७४ सालको नतिजाअनुसार जिल्लामा कांग्रेस सबैभन्दा ठूलो दल हो । उसले ६ वटा पालिकामा जित निकालेको थियो । बाँकी तीनवटामा एमाले विजयी भयो । माओवादीले भने एउटै पालिका जित्न सकेन ।

कांग्रेसले गुर्भाकोट, पञ्चपुरी र भेरीगंगा नगरपालिकामा मेयर–उपमेयर नै जितेको थियो । उसले वीरेन्द्रनगरको मेयर तथा बराहताल र चिंगाड गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष पनि जित्यो । एमालेले लेकबेसी नगरपालिकाको मेयर–उपमेयर, वीरेन्द्रनगरको उपमेयर तथा चौकुने, लेकबेसी र सिम्ता गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । माओवादी चौकुने गाउँपालिकामा दोस्रो भए पनि प्रमुख–उपप्रमुखमा जित निकाल्न सकेन ।

आगामी चुनावमा कस्तो परिणाम आउला भन्ने चर्चा चलिरहेको छ । एमालेले जितेका तीनमध्ये दुईवटामा कांग्रेस र माओवादीको मत मिलाउँदा बढी हुन्छ । सिम्ता गाउँपालिकामा भने अन्य दल मिल्दा पनि एमाले नै मजबुत देखिन्छ । तर, सुर्खेतमा एमालेमा आएको विभाजनको असर पनि परेको छ । केही पालिकामा एकीकृत समाजवादीको राम्रो प्रभाव छ ।

सत्ता साझेदार पाँच दलले जिल्लामा गठबन्धन गर्ने निर्णय गरे पनि उम्मेदवारी मनोनयनमा त्यस्तो देखिएको छैन । केहीमा बाहेक धेरै पालिकामा सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । तर, तालमेलका लागि सत्ता साझेदार दलले प्रयास गरिरहेका छन् । गठबन्धन बन्यो भने जिल्लामा एमालेलाई समस्या पर्न सक्छ । बनेन भने परिणाम पहिलेकै जस्तो आउन सक्छ ।

समग्रमा सुर्खेतमा कांग्रेस नै अगाडि देखिन्छ । उसले जितेका अधिकांश पालिकामा मतान्तर फराकिलो छ । यसपटक एमालेको विभाजनले कांग्रेसलाई झन् सहज भएको छ । एमालेको नतिजा भने एकीकृत समाजवादीमा निर्भर छ । यदि समाजवादीले धेरै मत काट्यो भने एमालेले पहिले जितेका कम्तीमा दुईवटा पालिका गुमाउन सक्छ । यद्यपि, उम्मेदवारको प्रभाव र थपिएका मतदाता पनि यो चुनावमा निर्णायक देखिन्छन् ।

जिल्लामा २ लाख ३८ हजार ४ सय ५७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये १ लाख १६ हजार ३ सय ३६ पुरुष र १ लाख २२ हजार १ सय २१ महिला छन् ।