मकवानपुरमा एमालेका लागि पाँचदलीय गठबन्धन मुख्य चुनौती, दोहोर्‍याउला पुरानो नतिजा ?

मकवानपुरमा एमालेका लागि पाँचदलीय गठबन्धन मुख्य चुनौती, दोहोर्‍याउला पुरानो नतिजा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा १० वटा स्थानीय तह छन् । तीमध्ये एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र आठवटा गाउँपालिका छन् । मकवानपुर एमालेको प्रभाव रहेको जिल्ला मानिन्छ । जिल्लामा कांग्रेस र माओवादीसँग उसको प्रतिस्पर्धा देखिन्छ । पछिल्लोपटक जिल्लाका केही पालिकामा एकीकृत समाजवादीको पनि प्रभाव छ ।

गत स्थानीय चुनावको नतिजाका आधारमा मकवानपुरमा एमालेको वर्चस्व देखिन्छ । उसले हेटौँडा उपमहानगरसहित ६ वटा पालिका जितेको थियो । कांग्रेस र माओवादी दुई–दुईवटामा सीमित भएका थिए । एमालेले हेटौँडा उपमहानगरको मेयर–उपमेयरसहित इन्द्रसरोवर, कैलाश, भीमफेदी, मनहरी र मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै जितेको थियो ।

उसले बागमती गाउँपालिकामा चार मतले उपाध्यक्षसमेत जित्यो । कांग्रेसले राक्सिराङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष, बकैया गाउँपालिकाको अध्यक्ष तथा थाहा नगरपालिकाको उपमेयर जित्यो । माओवादीले थाहा नगरपालिकाको मेयर तथा बागमती गाउँपालिकाको अध्यक्ष मात्रै जित्यो ।

आगामी वैशाख ३० गतेको स्थानीय चुनावका लागि केन्द्रमा भएको गठबन्धनअनुसार हेटौँडा उपमहानगर एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धन इमानदारीपूर्वक कार्यान्वयन भए हेटौँडा यसपटक एमालेबाट फुत्कन सक्छ । किनकि अघिल्लोपटक एमालेले कम मतान्तरमा यहाँ जित निकालेको थियो । तर, कांग्रेसमा भने गठबन्धनलाई लिएर असन्तुष्टि देखिन्छ । जिल्लामा एमालेले जितेका अधिकांश गाउँपालिकामा मतान्तर धेरै छ । यद्यपि, उसका लागि पुरानो नतिजा दोहोर्‍याउन पाँचदलीय गठबन्धन मुख्य बाधक देखिन्छ ।

सत्ता साझेदार दलले जिल्लाका सबै पालिकामा गठबन्धन गरेका छन् । पाँचवटा तहको प्रमुख कांग्रेसले पाएको छ । माओवादीले तीन र एकीकृत समाजवादीले हेटौँडासहित दुईवटाको प्रमुख पाएको छ । कांग्रेसले मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश र बकैया गाउँपालिकाको प्रमुख पाएको छ ।

माओवादीले थाहा नगरपालिका, भीमफेदी र बागमती गाउँपालिकाको प्रमुख पाएको छ भने एकीकृत समाजवादीले हेटौँडासहित इन्द्रसरोवर गाउँपालिकाको प्रमुख पाएको छ । मकवानपुर एकीकृत समाजवादीका नेता एवं संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडाको गृहजिल्ला पनि हो । त्यसैले जिल्लामा एकीकृत समाजवादीले पनि एमालेलाई हराउन निकै जोड गरिरहेको छ । उसले अधिकांश तहमा वडा तहसम्मै संगठन पनि बनाएको छ ।

हेटौँडाकी उपमेयर मीना लामा यसपटक एकीकृत समाजवादीका तर्फबाट मेयरमा उठेकी छिन् । त्यसैले जिल्लामा गठबन्धनका उम्मेदवारलाई जितेर पुरानो प्रभाव बचाउन एमालेलाई चुनौती देखिन्छ । उसले पहिले जितेका ६ वटा पालिकामध्ये कतिपय गुमाउने सम्भावना छ । कैलाश, मकवानपुरगढी र मनहरी गाउँपालिका यसपटक एमालेबाट फुत्किन सक्छन् । गत चुनावको परिणामका आधारमा कांग्रेस र माओवादी मिल्दासमेत ती पालिकामा एमालेको मतभन्दा बढी हुन्छ ।

त्यसमा एकीकृत समाजवादीको समेत थपिने भएकाले एमालेलाई झन् गाह्रो छ । हैटौँडा उपमहानगरमा भने अहिले नै आकलन गर्न गाह्रो छ । मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता छन् । तीमध्ये १ लाख ४९ हजार ९ सय ५४ पुरुष र १ लाख ४४ हजार ९ सय ५९ महिला छन् ।