काठमाण्डु -धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च पुगेर सो निर्णय बदरको मागसहित रिट दर्ता गरेका हुन् । रिटको बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ ।
वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले अन्तरिम आदेश माग गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो ।
यस विषयमा गृह मन्त्रालयले भने स्पष्टीकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले प्रष्ट पारे । नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृह सचिव पाण्डेले नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने उनले बताए ।




प्रतिक्रिया