मोहनविक्रम सिंहको गृहजिल्लामा यस्तो छ चुनावी अंकगणित, एमालेले जितेका पालिकामा सत्ता गठबन्धनको तालमेल, झिमरुकमा एमाले र माओवादी मिले

मोहनविक्रम सिंहको गृहजिल्लामा यस्तो छ चुनावी अंकगणित, एमालेले जितेका पालिकामा सत्ता गठबन्धनको तालमेल, झिमरुकमा एमाले र माओवादी मिले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्युठानमा स्थानीय तह चुनावका लागि उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । जिल्लामा दुईवटा नगरपालिकासहित नौवटा स्थानीय तह छन् । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला प्युठानमा एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको प्रभाव छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने एमाले नेता सूर्य थापाको गृहजिल्ला पनि प्युठान हो ।

०७४ सालमा जिल्लामा मिश्रित परिणाम आएको थियो । तर, एमालेले धेरै तहमा जित निकालेको थियो । एमालेले चार तथा कांग्रेस र राष्ट्रिय जनमोर्चाले दुई–दुई तथा माओवादीले एक स्थानमा जितेका थिए । एमालेले स्वर्गद्वारी नगरपालिकाको मेयर–उपमेयर, सरुमारानी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा ऐरावती र माण्डवी गाउँपालिकाको अध्यक्ष जितेको थियो । उसले प्युठान नगरपालिकाको उपमेयर पनि जित्यो ।

राष्ट्रिय जनमोर्चाले झिमरुक र मल्लरानी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा कांग्रेसले गौमुखी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र नौबहिनीको अध्यक्ष जितेको थियो । माओवादी प्युठान नगरपालिकाको मेयर, ऐरावती, नौबहिनी र माण्डवीको उपाध्यक्ष जित्न सफल भयो । गत चुनावमा जिल्लाका फरक–फरक तहमा यी चार दलबीच तालमेल भएको थियो । त्यसैले परिणाम पनि मिश्रित आयो ।

एमालेले जितेका तीन पालिकामा सत्ता गठबन्धनका चार दलबीच गठबन्धन भएको छ । स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा एमालेविरुद्ध सत्ता साझेदार दलले संयुक्त उम्मेदवारी दिएका छन् । माण्डवीमा विप्लव नेतृत्वको नेकपा पनि गठबन्धनमा सामेल भएको छ । ऐरावती, मल्लरानी र झिमरुकमा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ ।

प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन बनेको छ । झिमरुकमा एमाले र माओवादीले पनि तालमेल गरेका छन् । रंगीविरंगी तालमेल भएकाले यसपटक पनि मिश्रित परिणाम आउने सम्भावना छ ।

ऐरावतीमा यसअघि एमाले र माओवादी मिलेका थिए । त्यहाँ यसपटक कांग्रेस र जनमोर्चा मिल्दा एमालेलाई समस्या हुन सक्छ । कांग्रेसले जितेको गौमुखी गाउँपालिकामा यसअघि माओवादी र जनमोर्चा मिलेका थिए । अहिले कांग्रेस र माओवादी मिलेका छन् । नौबहिनीमा यसअघि कांग्रेस र माओवादी तथा एमाले र जनमोर्चा मिलेका थिए । अहिले पनि उस्तै गठबन्धन बनेको छ ।

प्युठान नगरपालिकामा यसपटक कांग्रेस र माओवादीले तालमेल गरेका छन् । यसअघि जनमोर्चा र माओवादी मिलेका थिए । मल्लरानी गाउँपालिका कांग्रेससँग मिलेर राजमोले सुरक्षित गरेको छ । माण्डवीमा गठबन्धन बनेकाले यसपटक एमालेलाई कठिन छ । अघिल्लोपटक उसले माओवादीसँग मिलेर अध्यक्ष जितेको थियो । स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकामा भने एमाले बलियो देखिन्छ । तर, ती दुवैमा सत्ता गठबन्धनकारी दलबीच तालमेल बनेको छ ।

सत्ता गठबन्धनका कारण एमालेले पहिले जितेका दुईवटा प्रमुख गुमाउन सक्छ । केही नयाँ पालिकामा भने उसले जित्न सक्छ । समग्रमा यसपटक पनि प्युठानमा मिश्रित परिणाम आउने देखिन्छ । जिल्लामा १ लाख ५९ हजार ३ सय ४६ मतदाता छन् । तीमध्ये ७७ हजार ३ सय २७ पुरुष र ८२ हजार १८ महिला छन् ।