काठमाण्डु – स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते हुँदैछ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुकै संलग्नतामा आपराधिक गतिविधिहरु पनि बढ्न थालेका छन् ।
उम्मेदवारी दर्ताको दिन वैशाख ११ गतेपछि हालसम्म कुटपिट तथा झै–झगडाका ५९ वटा घटना भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मुलुकका प्रमुख राजनीतिक दलहरुकै संलग्नतामा उक्त घटना भएका हुन् ।
स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका प्रमुख दलहरुबीच नै विवाद देखिएपछि कतिपय ठाउँमा गठबन्धनकै कार्यकर्ताबीच कुटाकुट भएको छ ।
कुटपिट तथा झै–झगडाका घटना सबैभन्दा धेरै कर्णाली प्रदेशमा भएको छ । कर्णालीमा मात्रै २३ वटा घटना भएको प्रहरीले जनाएको छ । माओवादीका कार्यकर्ताबाट अरु दलका कार्यकर्ता कुटिएका छन् ।
मधेश प्रदेश र सुदूपश्चिममा पनि दलहरुले हिंसात्मक गतिविधि गरेका छन् । चुनाव प्रचार प्रसारका क्रममा कार्यकर्ताबीच ठाउँठाउँमा झडप भएका छन् । कतिपय स्थानमा भने विपक्षी दलका कार्यकर्तामाथि नियोजित आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ । काठमाण्डु उपत्यकामा भने हालसम्म दलहरुले शान्तिपूर्ण प्रचारसप्रसार गरेका छन् ।
तीनवटै जिल्लामा एउटा पनि घटना नभएको प्रहरीको दाबी छ । प्रदेश १ को भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि राति अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेका हुन् ।
यो प्रदेशका अन्य स्थानमा हिंसात्मक गतिविधि भएको प्रहरीको तथ्यांकमा छैन ।
यस अवधिमा पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । यस्तै दलहरुका हिंसात्मक गतिविधिमा १६ जना प्रहरी पनि घाइते भएका छन् । ६ ठाउँमा तालाबन्दी, तीन ठाउँमा चक्काजाम र १५ ठाउँमा तोडफोड भएका छन् ।
चितवनको भरतपुरमा अज्ञात समूहले अनिल परियारको हत्या गरेको छ । आइतबार राति धारिलो हतियार प्रयोग गरी भरतपुर १२ मिलनचोकका परियारको हत्या भएको हो । परियार आफ्नो कार्यकर्ता भएको बताउँदै कांग्रेसले हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
धनुषामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियारले हानेको हो । यादव गम्भीर घाइते भएका छन् ।
राति साढे १२ बजे आफ्नै घरमा सुतिरहेका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकेपछि बाहिर बरन्डामा सुतेका उनको बुबालाई आक्रमण गरेको प्रहरीको अनुमान छ । यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्धारा धनुषा र रुकुम पश्चिममा राप्रपाका कार्यकर्ता कुटिएका छन् ।
धनुषाको सबैला नगरपालिका ४ मा राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन् ।घरदैलो गरिरहेका बेला मियामाथि एमाले कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । तर मियाले नमानेपछि उनीसहित ७ जना परिवारका सदस्यमाथि आक्रमण भएको राप्रपाले जनाएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा राप्रपाबाट वडाअध्यक्ष पदका उमेदवार लिलिवीर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर आक्रमण गरेको, झण्डा च्यातेर फालिदिएको र उम्मेदवारलाई लछारपछार गरिएको राप्रपाले जनाएको छ ।
त्यस्तै सत्ता चुनावी तालमेलका लागि सहमति गरेको सत्ता गठबन्धन दलभित्रै देशभरका १६ ठाउँमा झडप भएको छ । प्रहरीका अनुसार ती १६ ठाउँमा चुनावी प्रचारकै विषयलाई लिएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत गठबन्धन दलका कार्यकर्ताबीच झडप भएको हो ।
वागमतीमा ४, मधेशमा १ र प्रदेश नं १ मा ३ ठाउँमा गठबन्धनबीच विवाद भएको प्रहरीको तथ्यांक छ । त्यस्तै सर्लाहीमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई विष खुवाएको पाइएको छ । घरदैलो अभियानका क्रममा विष सेवन गराइएपनि उनीहरुको मृत्यु भने नभएको प्रहरीले जनाएको छ ।
टिकट वितरणपछि गठबन्धन गरेका दलहरुबीच तीव्र असन्तुष्टि बढ्दै गएपछि कतै पार्टी कार्यालय तोडफोड र कतै तालाबन्दी गरिएको थियो । देशका १५ ठाउँमा दलहरुले तोडफोड गरेको प्रहरीले बताएको छ । यस पटकको चुनावमा बाह्य सुरक्षा चुनौती नदेखिए पनि दलहरुबीचमै आपराधिक गतिविधि बढी भइरहेको प्रहरीले दावी गरेको छ ।




प्रतिक्रिया