चीन जाने रास्वपा टोलीलाई रविको निर्देशन : हाम्रो भूमि चीनविरुद्ध प्रयोग हुँदैन भन्ने विश्वास दिलाउनुस्

चीन जाने रास्वपा टोलीलाई रविको निर्देशन : हाम्रो भूमि चीनविरुद्ध प्रयोग हुँदैन भन्ने विश्वास दिलाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्न निर्देशन दिएका छन् ।


शनिबार आफ्नै निवास बुढानीलकण्ठमा चीन उड्ने तयारीमा रहेको नेताहरुको टोलीलाई लामिछानेले उक्त निर्देशन दिएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा ३० सदस्यीय रास्वपा टोली आइतबार चीन उड्दैछ ।

लामिछानेले सीपीसी नेतृत्वसँगको छलफलमा चीनसँग राजनीतिक, सामाजिक तथा आर्थिक सबै क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरु इच्छुक रहेको विषय स्पष्टताका साथ राख्न भनेको भेटमा सहभागी एक पदाधिकारीले काठमाण्डु पाटीलाई बताए ।

‘नेपालको भूमि कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग हुन दिँदैनौं । चीनविरोधी गतिविधिका लागि नेपालको भूमिमा कुनै स्थान छैन । हामी चीनको विकासबाट फाइदा लिन चाहन्छौं’, लामिछानेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘ राजनीतिक, सामाजिक आर्थिक सबै हिसाबले हामी चीनसँग सहकार्य गर्न चाहन्छौं । मेरो र पार्टीको तर्फबाट चिनियाँ नेताहरुलाई यो कुरा स्पष्टसँग राखेर आउनुहोला ।’

लामिछानेले भ्रमण टोलीलाई चीनसँग पार्टी र सरकारप्रति विश्वासको वातावरण बनाउने विषयमा जोड दिन पनि निर्देशन दिए ।

लामिछानेले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भने एजेण्डा बनाएर छलफल नगर्न नेताहरुलाई सचेत गराएका छन् ।

चिनियाँ पक्षले त्यसबारे चासो राखेको खण्डमा बीआरआईबारे गम्भीर रहेको र त्यसको कार्यान्वयनबारे दुई पार्टी र सरकारको शीर्षस्थ तहमा छलफल हुने जवाफ दिन भनेका छन् ।

त्यस विषयमा दुई देशका सरकार र राजनीतिक दलबीच उच्चस्तरीय संयन्त्र बनाएर संवाद अघि बढाउन सकिने उनले बताएका छन् ।
‘बीआरआइका बारेमा हामी गम्भीर छौं । तर, त्यसबारे दुई पार्टी र सरकारको उच्चस्तरीय संयन्त्रमा छलफल हुन्छ, यही सन्देश भन्नुहोला’, उनले भने ।
लमिछानेले चीनको अभूतपूर्व विकासबाट नेपालले लाभ लिन सक्ने सम्भावनाबारे अध्ययन गर्न पनि टोलीलाई निर्देशन दिएका छन् ।
लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीले धेरै पहिलादेखि पार्टी–पार्टी सम्बन्ध विस्तारमा पनि जोड दिँदै आएको र त्यही सन्दर्भमा छलफल गर्न उच्चस्तरीय टोली जान लागेको बताएका थिए ।

उनले रास्वपा गठन, राजनीतिक पृष्ठभूमि र उद्धेश्य तथा पार्टी निर्माणको प्रक्रिया र अहिलेसम्मका उपलब्धिबारे चिनियाँ पक्षलाई स्पष्ट जानकारी गराउन टोलीलाई भनेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनले पारित गरेको सामाजिक लोकतन्त्रको अवधारणाबारे पनि आफ्नो धारणा स्पष्टसँग राख्नुपर्ने उनको निर्देशन छ । दुई देश तथा रास्वपा र सीपीसीबीच विश्वासको वातावरण निर्माण गर्न भ्रमण उपयोगी हुने विश्वास उनले लिएका छन् ।

त्यस्तै, चीनको विकास मोडेल, प्रादेशिक तथा स्थानीय विकासका अभ्यास र राज्य सञ्चालनको तरिकाबारे जानकारी लिएर आउन पनि लामिछानेले टोलीलाई सुझाव दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई कसरी प्रशिक्षित गर्छ भन्ने विषय समेत बुझेर आउन भनेका छन् ।


विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा चीनले हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने भन्दै उनले यस विषयमा पनि छलफल गर्न निर्देशन दिएका छन् ।

नेपाल–चीन व्यापार, बहुआयामिक आर्थिक विकास र आपसी सहकार्यका सम्भावनाबारे छलफल गर्नुपर्नेमा पनि लामिछानेको निर्देशन छ ।

लामिछानेले भ्रमण टोलीका सदस्यहरुसँग सामूहिक र त्यसपछि पदाधिकारी र सचिवालय सदस्यसँग छुट्टै छलफल गरेका थिए ।