नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउने सरकारको तयारी

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी भएको छ । अधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले छानविन समिति गठन गर्नुका साथै दुई पटक स्पष्टिकरण समेत सोधिसकेका छन् ।

अधिकारीको विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव टोकराज पाण्डेको नेतृत्वमा छानबिन समिति गठन भएको छ । उनलाई पर्यटनमन्त्री आलेले नै ६ महिनाअघि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए । तर,पछिल्लो समय मन्त्री आले र अधिकारीबीचको दुरी बढेको छ ।

नेपाल वायु सेवा निगमको पहिलो पटक साउदी अरेविया उडेको विमानमा एमाले नेता महेश बस्नेतलाई लिएदेखी नै आले उनिसंग आक्रोसित छन् । अधिकारीको काम गर्ने शैली समेत ठिक नभएको भन्दै मन्त्री आले उनिसंग असन्तुष्ट छन् ।

नेपाल वायु सेवा निगमका तीन वटा मध्ये दुई वटा ट्वीनअटर विमान अहिले चलिरहेका छन् । तीमध्ये एउटा विमान समिट एयरले भाडामा लिएर चार्टर गरिरहेको छ । अधिकारीले विग्रेको विमान बनाउन कुनै पहल नगरेको आरोप उनिमाथि छ ।

उनले यसअघि आलेकै आडमा कर्मचारीहरुलाई धम्काउने गरेको, सम्पति शुद्धिकरण र अख्तियार लगाउन सक्ने क्षमता आफुसंग भएको बताउने गरेको निगमकै एक कर्मचारीले बताए ।

अधिकारीले एक कर्मचारीलाई कार्यकक्षभित्रै थुनेपछी उनि बेहोस भएका थिए । यो घटनापछी निगमका कर्मचारीहरु समेत उनिसंग आक्रोसित बनेका छन् । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समिति नै खडा गरेर कर्मचारीहरूले अधिकारीविरुद्ध आन्दोलन थालेका छन् । उनिहरुले अधिकारीको राजीनामा मागेका छन् । मन्त्री आलेले छानविन समितिको प्रतिवेदनको आधारमा उनलाई कार्वाही गर्ने बचन दिएको स्रोत बताउंछ ।

अधिकारी आएको ६ महिनामा ४० जना भन्दा बढी कर्मचारी भर्ना गरिसकेका छन् । तर, निगमको व्यापार बढाउने योजना र नयां जहाज खरिदमा समेत उनको चांसो नभएको बताइन्छ ।

आलेमाथी कर्मचारीहरुले विगत लामो समयदेखि निगमका विदेशस्थित कार्यालयहरूमा आवश्यक कर्मचारीहरुको सरुवा नगरी नियोजितरुपमा निगमलाई धरासायी बनाउने खोजेको, पछिल्लो समय निगमको व्यापार तथा आयआर्जन राम्रै हुँदासमेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको साँवा र ब्याज नतिरेको लगायत १५ आरोप लगाएका छन् ।

आफुलाई हटाउन लागेको जानकारी पाएसंगै अधिकारी शक्तिकेन्द्र पुगेको स्रोत बताउंछ । उनलाई निर्वाचन सकिएलगत्तै विदा दिने तयारी छ । तर, पद बचाउन उनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालकोमा पुगेका छन् । खनालले उनलाई पदमा राख्न दबाव दिएका छन् । तर, नेपाल भनेको पक्षमा नभएको बताइन्छ ।