दशैलाई बिर्साउने चुनावी रौनक : भरिए गाउँ, रित्तिए सहर

दशैलाई बिर्साउने चुनावी रौनक : भरिए गाउँ, रित्तिए सहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहमा पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् ।

देशको राजधानी काठमाण्डुबाट केहि दिनदेखि गाउँ फर्किनेको ताँती लागेको छ । उपत्यकामा सबै ठाउँ खाली हुन थालेका छन् ।उपत्यकादेखि बाहिर जिल्लामा जानेको संख्या दिनहुँ वृद्धि भएको छ ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजिव शर्मा दासका अनुसार हिजो मंगलबारको तुलनामा उपत्यकाबाट बाहिरिनेको संख्या आज बढेको छ । हिजोमात्र ५९ हजारले काठमाण्डु छाडेका थिए । जबकी सामान्यतया दैनिक २५ देखि ३० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका थिए ।

अहिले बस काउन्टरमा टिकट पाउन नै गाह्रो भएको छ । गाउँ जानेको संख्या निकै वृद्धि भएको छ । यात्रुको चाप बढी हुँदा यातायातको टिकट पाउन मुस्किल परेको छ ।

सहरमा रहेका मतदातालाई उम्मेदवारहरूले गाडी रिजर्भ गरेर गाउँगाउँ लैजाने गरेका छन् । ‘हाम्रो गाउँपालिकाका उम्मेदवारले गाडी रिजर्भ गरेका छन् रे,’ उनले भने, ‘त्यो गाडी कतिबेला आउँछ भनेर पर्खेर बसेको छु,’ कोटेश्वरमा गाडी कुरेर बसेका ओखलढुंगाका राजन धमलाले बताए ।

बाहिरका मतदाताहरू गाउँगाउँमा जाँदा उपत्यकाका सडकमा चाप पहिलेको तुलनामा कम भएको छ । पसलहरु बन्द देखिएका छन् ।मतदाताहरु चुनावमा भोट हाल्न गाउँ जान थालेपछि व्यापार व्यवसायमा कमी आएको कोटेश्वरका व्यापारी रानमन्द श्रेष्ठ बताउँछन् । यहाँ प्रायः पसल बन्द छन्,’ उनले भने, ‘मतदाताहरू गाउँमा गएका कारणले व्यापारमा कमी आएको छ ।’

सहरमा मानिसहरुको भिड रित्तिएसँगै गाँउमा चुनावी राैनक बढ्न थालेको छ । सहरबाट गाउँ पुगेका उनीहरु आ–आफ्ना पक्षमा मत माग्न थालेका छन् । ‘अहिले गाउँमा मानिसहरूको चहलपहल निकै बढेको छ,’ सुनकोशी गाउँपालिका १० का पुष्प श्रेष्ठले भने भने, ‘मतदान गर्न बाहिरबाट आएका कारणले चहलपहल निकै बढेको छ ।’

त्यस्तै काभ्रे पाँचखाल घर भएका उमेश पराजुली आज बिहानै घरतिर लागे । उनीसहित सात जनाको टोलीलाई लिन पाँचखालबाट नेपाली कांग्रेस पार्टीले गाडीको व्यवस्था गरेको रहेछ । कांग्रेसले आफ्ना मतदाताभन्दा कांग्रेसप्रति आस्था राख्ने र जिल्ला बाहिर रहेका मतदातालाई लिन यसरी गाडीको व्यवस्था गरेको हाे ।

उनी अब मत दिएर मात्रै काठमाण्डु फर्किनेछन् । काठमाण्डुको असनमा कपडाको व्यापार गर्दै आएका उनको पसल पाँच दिनका लागि बन्द हुनेछ । ‘पाँच वर्षमा एक पटक मतदान गर्ने अवसर जुरेको छ । त्यसमा पनि आफ्नै नजिकको दाई उठ्नु भएको छ । उहाँले गाडीको व्यवस्था पनि गरिदिनुभयो,’ पराजुलीले भने ।

उनी जस्ता सयौँ मतदाताले विभिन्न राजनीतिक दलले पठाएका गाडी प्रयोग गरी अहिले काठमाण्डुलगायत सहरी क्षेत्र छोडिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो चौबिस घण्टामा ६९ हजार ८१ जनाले काठमाण्डु छोडेका छन् भने पपछिल्लो चौबिस घण्टामा ४२ हजार ८३२ जना काठमाण्डु भित्रिएका छन् ।

हिजो र आज काठमाण्डु बाट बाहिरिनेको संख्या निकै बढेको छ । भोट हाल्न आफ्नो क्षेत्रमा जान लागेका धेरै मतदातालाई राजनीतिक दलले गाडीको व्यवस्था गर्दै आएका छन् ।

नेकपा एमाले दार्चुला–काठमाण्डु सम्पर्क मञ्चले ११ बसमा मतदाता तथा एमाले सुभचिन्तकहरूलाई दार्चुला लग्यो । मतदाता तथा एमालेका शुभचिन्तकहरूलाई मञ्चले नै गाडी बुकिङ गरेर दार्चुला पु¥याएको थियो ।

यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन् । कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन् ।