परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने, मापसे गरेकाले भोट हाल्न नपाउने

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने, मापसे गरेकाले भोट हाल्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहको चुनावमा मादक पदार्थ सेवन गरी मतदान गर्न नपाइने बताएको छ । आयोगले बुधबार साँझ विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि उनीहरुलाई मतदान गर्न नदिइने जानकारी दिएको हो ।

‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुँदैन,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको स्मरण गराउँदै आयोगले त्यस्तो भनेको हो ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको जनाएको छ ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने पनि आयोगले जनाएको छ ।

त्यस्तै आयोगले मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनीको प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिने ब्यवस्था भएको आयोगले जनाएको छ ।