‘हेभिवेट’ नेताका जिल्लामा बढी सुरक्षा चुनौती

‘हेभिवेट’ नेताका जिल्लामा बढी सुरक्षा चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहको निर्वाचन बैशाख ३० अर्थात शुक्रबार हुँदैछ । भोलि देशभर ७५३ स्थानीय तहमा कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । सो निर्वाचनबाट आगामी पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिनेछन् ।

निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये २ हजार ९४६ अतिसंवेदनशील र ४ हजार ४२३ केन्द्र संवेदनशीलको सूचीमा छन् । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल सुरक्षाका लागि ३ तहको सुरक्षा घेरा बनाइएको छ ।

सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । अतिसंवेदनशील मतदान स्थलमा ६ म्यादी, ५ प्रहरी गरी ११, संवेदनशीलमा ५ म्यादी ४ प्रहरी गरी ९ र अन्यमा ४ म्यादी, ३ प्रहरी गरी ७ सुरक्षाकर्मी परिचालन गरिएको छ । थप मद्दतका लागि हतियारसहित ९ देखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ ।

निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमान्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टर सहितको विशेष टोली तयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ । सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ । त्यस्तै अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा सशस्त्रलाई मतदान अवधिभर खटाइएको छ ।

हेभिवेट नेताका जिल्लामा सुरक्षा चुनौती

नेपाल प्रहरीले स्थानीय चुनावका बेला ४ जिल्लामा बढी सुरक्षा चुनौती देखेको छ । सुरक्षाको हिसाबले ४ जिल्लामा चुनौती देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए ।

सबैभन्दा धेरै रुकुमपूर्व, तराईका जिल्लाहरू बारा, सिराहा, पर्सा र हिमाली जिल्ला डोल्पाको माथिल्लो भागमा चुनौती देखिएको उनले बताए । प्रवक्ता केसीले अहिलेको स्थानीय चुनावमा भूमिगत पार्टी र आपराधिक समूहहरू सक्रिय नभएकाले चुनावमा सुरक्षा थ्रेट नभएको बताए । तर भीआईपी र भीभीआईपीको गृहजिल्लामा चुनौती रहेको उनले बताए ।

चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन् । केही दिनअघि चुनावी आमसभालाई सम्बोधन गर्न डडेल्धुरा गएका उनी निर्वाचनमा मतदान गरेपछि मात्रै फर्किने भएका छन् ।

चुनावमा झडपका घटना आइरहेकाले प्रधानमन्त्री जिल्लामा भइरहँदा सुरक्षाका हिसाबले चुनौती देखिन्छ । उनकै गाउँपालिका गन्यापधुरामा कांग्रेसबाट फुटेर गएका कार्यकर्ता आवेगमा आउनसक्ने अनुमान गरिएको छ ।

उच्चस्तरीय नेताहरू भएको अर्काे जिल्ला हो रुपन्देही । गृह मन्त्रालय सम्हालेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड र पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि गृहजिल्लामै छन् । भारतीय सिमाना जोडिएको रुपन्देहीलाई पनि सुरक्षा चुनौतीका हिसाबले संवेदनशील जिल्ला मान्न सकिन्छ । अहिले निर्वाचनको माहोलपछि पनि केही सानातिना घटना भएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता रहेको जिल्ला मोरङमा पनि निर्वाचनमा सुरक्षा चुनौती उत्तिकै देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा उनी निकट उम्मेदवार उठेपछि केही असन्तुष्टि भएकाले पनि चुनावमा केही घटना हुनसक्ने विश्लेषण गरिएको छ । तराईका जिल्लालाई चुनावी हिसाबले केही चुनौतीकै रूपमा हेरिन्छ ।

यता प्रहरीले काठमाण्डु उपत्यकामा भने शून्य चुनौती रहेको बताएको छ । त्यसबाहेक चितवन, पोखरा, विराटनगर महानगरपालिकामा चुनौती नदेखिएको एसएसपी केसीको भनाई छ । निर्वाचनमा ४ वटै सुरक्षा निकायका २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करीब ३ लाख कर्मचारी खटाइएको छ । सुरक्षाका हिसाबले अघिल्लो चुनावमा जस्तो घटनाहरू नहुने प्रहरीको अनुमान छ ।

कहाँ कति घटना भए ?

स्थानीय तह निर्वाचनको मतदानका लागि मौन अवधि शुरू भइसकेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार बैशाख ११ गते मनोनयन दर्ताका दिनदेखि देशभर प्रमुख राजनीतिक दलहरुकै संलग्नतामा १९२ वटा विभिन्न आपराधिक घटनाहरु भएका छन् ।

यसबीच निर्वाचनलाई लक्षित गरेर ६ वटा तालाबन्दी, ३ वटा चक्काजाम, १६ ठाउँमा तोडफोड, ६२ ठाउँमा २ पक्षीय झगडा, विवाद र कुटपिट, १६ ठाउँमा गठबन्धनको विरोध, ४ जना म्यादी प्रहरीको मृत्यु, २३ जना म्यादी प्रहरी घाइते, १९ जना प्रहरी घाइते र ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

पछिल्लो मंगलवार र बुधवार रुकुम, सुर्खेत लगायतका ठाउँमा राजनीतिक दलका कार्यकर्ताबीच झडपका घटना आइरहेका छन् । बुधबार मात्रै प्रहरीले रुकुमपूर्वमा एमालेकी कार्यकर्ता जुनमाया बुढालाई अपहरणपछि मारेको आरोपमा माओवादीका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

चुनावी प्रचारप्रसारका क्रममा भएको झडपपछि जुनमाया हराएकी थिइन् । परिवारले जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वमा निवेदन दिएपछि खोजतलास गर्दा जुनमायाको शव टक्सेराबाट हिँडेर २ घण्टामा पुगिने दानव जंगलमा भेटिएको थियो ।

त्यस्तै २५ गते आइतबार चितवनको भरतपुर–१२ निवासी नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको थियो ।उनको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । निर्वाचन प्रचारप्रसारका क्रममा हत्या गरिएको भन्दै नेपाली कांग्रेसले उनको हत्याको छानविन गर्न माग गरेको छ ।