काठमाण्डु – भारतको असमस्थित काजिरंगामा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ।
दुर्घटनापछि मिनी बस नराम्ररी क्षतिग्रस्त भएको छ । बसभित्र धेरै यात्रु फसेका थिए। उद्धार टोलीले बस काटेर शवहरू बाहिर निकालेको थियो। बसमा कति जना सवार थिए भन्ने विवरण भने सार्वजनिक भएको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको सवारीसाधन यसअघि १२ पटक ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै चालान काटिएको थियो। तीमध्ये ३८ हजार ५०० भारु जरिवाना तिरिएको थियो भने ४ हजार भारुको एउटा चालान अझै बाँकी थियो। व्यावसायिक सवारीसाधनले तीव्र गतिमा चलाउँदा यस्तो जरिवाना लाग्ने गर्छ।
असमको गोलाघाटका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) स्वप्निल डेकाले पीटीआईलाई बताएअनुसार मिनी बस बोकाखाटबाट नगाउँतर्फ जाँदै थियो। बस तीव्र गतिमा रहेको र प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाएपछि विपरीत दिशाबाट आइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएकाहरूलाई कोहोरा मोडल अस्पताल पुर्याइएको छ । घटनाप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्।
दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट दुई–दुई लाख भारु आर्थिक सहायता उपलब्ध गराइने प्रधानमन्त्री मोदीले घोषणा गरेका छन्। त्यस्तै, घाइतेहरूलाई ५०–५० हजार भारु प्रदान गरिनेछ।
असममा पाँच वर्षमा सडक दुर्घटनाबाट १५ हजारभन्दा बढीको मृत्यु भारत सरकारको तथ्याङ्कअनुसार सन् २०२० देखि २०२४ सम्म असममा भएका सडक दुर्घटनामा १५ हजार ३०६ जनाको मृत्यु भएको छ।
तथ्याङ्कअनुसार सन् २०२४ मा सबैभन्दा धेरै तीन हजार ३५१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए। त्यस्तै, सन् २०२३ मा तीन हजार २९६ र सन् २०२२ मा दुई हजार ९९४ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया