विश्व मधुमेह दिवस

स्वस्थ जीवनशैली र सन्तुलित खानपानले घटाउँछ जोखिम

स्वस्थ जीवनशैली र सन्तुलित खानपानले घटाउँछ जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार विश्व मधुमेह दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

मधुमेह अर्थात् डायबिटिज रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।

शरीरमा रगतमा चिनी (ग्लुकोज)को मात्रा आवश्यकभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा यो समस्या देखिन्छ।

पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नाले टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिन्छ ।

मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

उनीहरूको सल्लाहअनुसार नियमित उपचार र जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ । मधुमेहबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउन आवश्यक भएको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।
टाइप १ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप २ मधुमेह विस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ ।

‘मोटोपन भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेहको परीक्षण गराइरहनुपर्छ । ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ’ डा. भट्टराईले बताए ।

कसरी बच्ने ?

बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताका कारण मधुमेहको जोखिम बढ्दै गएको छ। समयमै लक्षण पहिचान, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउन सके यस रोगबाट बच्न तथा जटिलता न्यूनीकरण गर्न सकिन्छ।

इन्सुलिन अग्न्याशयबाट उत्पादन हुने हर्मोन हो, जसले रगतमा रहेको ग्लुकोजलाई शरीरका कोषिकामा प्रवेश गराएर ऊर्जा उत्पादन गर्न सहयोग गर्छ। यसको उत्पादन वा कार्यक्षमतामा समस्या आउँदा रगतमा चिनीको मात्रा बढ्न थाल्छ।

मधुमेहलाई सामान्यतया टाइप १, टाइप २ र गर्भावस्थामा देखिने मधुमेह गरी तीन प्रमुख प्रकारमा विभाजन गरिन्छ। टाइप १ मधुमेहमा शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन। टाइप २ मधुमेहमा शरीरले इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। गर्भावस्थामा देखिने मधुमेह भने गर्भवती अवस्थामा रगतमा चिनीको मात्रा बढ्दा देखिन्छ।

टाइप २ मधुमेह अस्वस्थ खानपान, मोटोपना, शारीरिक निष्क्रियता र वंशाणुगत कारणसँग सम्बन्धित हुन सक्छ। यद्यपि, यो रोग जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ।

प्रमुख लक्षण

मधुमेहको सुरुवाती अवस्थामा कतिपय व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिन पनि सक्छ। विशेषगरी टाइप २ मधुमेह लामो समयसम्म थाहा नहुन सक्छ। त्यसैले लक्षण नदेखिए पनि जोखिममा रहेका व्यक्तिले समय–समयमा रगतमा चिनीको मात्रा परीक्षण गराउनु आवश्यक हुन्छ।

१. बारम्बार पिसाब लाग्नु : रगतमा चिनीको मात्रा बढ्दा शरीरले पिसाबमार्फत अतिरिक्त ग्लुकोज बाहिर निकाल्ने प्रयास गर्छ। यसले गर्दा सामान्यभन्दा धेरै पटक पिसाब लाग्न सक्छ।

२. धेरै तिर्खा लाग्नु : बारम्बार पिसाब लागेर शरीरमा पानीको कमी हुन सक्छ। त्यसैले पटक–पटक पानी पिउन मन लाग्ने र अत्यधिक तिर्खा लाग्ने समस्या देखिन सक्छ।

३ धेरै भोक लाग्नु : शरीरका कोषिकाले ग्लुकोजलाई प्रभावकारी रूपमा उपयोग गर्न नसक्दा पर्याप्त ऊर्जा नपाएको अनुभूति हुन सक्छ। यसले सामान्यभन्दा बढी भोक लाग्ने समस्या निम्त्याउन सक्छ।

४. अचानक तौल घट्नु : पर्याप्त खाना खाँदा पनि शरीरले ग्लुकोजलाई ऊर्जाका रूपमा प्रयोग गर्न नसक्दा बोसो र मांसपेशी उपयोग गर्न थाल्न सक्छ। यसले अनायास तौल घट्न सक्छ।

५. थकान र कमजोरी महसुस हुनु : शरीरले आवश्यक ऊर्जा प्राप्त गर्न नसक्दा निरन्तर थकान, कमजोरी र आलस्य महसुस हुन सक्छ।

६. आँखा धमिलो देखिनु : रगतमा चिनीको मात्रा बढ्दा आँखाको लेन्समा असर पर्न सक्छ। यसले केही समयका लागि धमिलो देखिने समस्या निम्त्याउन सक्छ।

७. घाउ निको हुन समय लाग्नु : मधुमेहका कारण रक्तसञ्चार र शरीरको संक्रमणसँग लड्ने क्षमतामा असर पर्न सक्छ। त्यसैले सामान्य घाउसमेत निको हुन लामो समय लाग्न सक्छ।

८. बारम्बार संक्रमण हुनु : छाला, गिजा, पिसाब नली तथा अन्य भागमा संक्रमण दोहोरिन सक्छ।

९. हातखुट्टा झमझमाउनु वा लाटो हुनु : लामो समयसम्म रगतमा चिनीको मात्रा नियन्त्रणमा नरहँदा स्नायुमा क्षति पुग्न सक्छ।

यसले हातखुट्टा झमझमाउने, पोल्ने वा संवेदना कम हुने समस्या देखिन सक्छ।

यी लक्षण देखिँदैमा मधुमेह नै भएको निष्कर्ष निकाल्न मिल्दैन। रगत परीक्षण र चिकित्सकीय परामर्शबाट मात्र यसको पुष्टि गर्न सकिन्छ।

कसरी बच्न ?

मधुमेहको जोखिम कम गर्न र विशेषगरी टाइप २ मधुमेह हुन नदिन जीवनशैलीमा सुधार गर्नु सबैभन्दा प्रभावकारी उपाय हो।

दैनिक खानपान, शारीरिक गतिविधि र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन सके यस रोगको जोखिम घटाउन सकिन्छ।

१. सन्तुलित र स्वस्थ खानपान गर्ने

दैनिक खानामा हरियो सागसब्जी, फलफूल, दाल, गेडागुडी, माछा तथा पर्याप्त फाइबरयुक्त खाद्य पदार्थ समावेश गर्नुपर्छ। अत्यधिक गुलियो खानेकुरा, चिनी मिसाइएका पेय पदार्थ, मिठाई, बिस्कुट, प्रशोधित खाना र अत्यधिक बोसोयुक्त खानेकुराको सेवन कम गर्नुपर्छ।

सेतो चामल र मैदाबाट बनेका परिकारको अत्यधिक सेवन गर्नुको सट्टा सम्भव भएसम्म फाइबरयुक्त अन्न तथा विविध खाद्य पदार्थ खानु उपयुक्त हुन्छ।

२. नियमित शारीरिक व्यायाम गर्ने

शारीरिक निष्क्रियता मधुमेहको प्रमुख जोखिम कारकमध्ये एक हो। त्यसैले दैनिक हिँडडुल, दौड, साइकल चलाउने, पौडी खेल्ने वा अन्य शारीरिक गतिविधिमा सहभागी हुनुपर्छ।

स्वस्थ वयस्कले सातामा कम्तीमा १५० मिनेट मध्यम तीव्रताको शारीरिक गतिविधि गर्नुपर्छ। दैनिक ३० मिनेट छिटो हिँड्ने बानीले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

३. शरीरको तौल नियन्त्रणमा राख्ने

अधिक तौल र विशेषगरी पेटमा बोसो जम्ने समस्या टाइप २ मधुमेहको जोखिमसँग सम्बन्धित छ। त्यसैले उमेर र उचाइअनुसार स्वस्थ तौल कायम राख्नुपर्छ। तौल बढी भएका व्यक्तिले चिकित्सक वा पोषणविद्को सल्लाहमा क्रमशः तौल घटाउने प्रयास गर्नुपर्छ।

४. धूमपान तथा मद्यपानबाट टाढा रहने

धूमपानले मधुमेहको जोखिम बढाउनुका साथै मुटु तथा रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढाउँछ। त्यसैले धूमपान त्याग्नु आवश्यक छ। मद्यपानबाट टाढा रहनु वा यसको सेवन नगर्नु स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ।

५. पर्याप्त निद्रा र तनाव व्यवस्थापन गर्ने

नियमित र पर्याप्त निद्राले शरीरको समग्र स्वास्थ्यमा सहयोग गर्छ। निद्राको कमी र दीर्घकालीन तनावले खानपान, तौल तथा शरीरको चिनी व्यवस्थापनमा नकारात्मक असर पार्न सक्छ। त्यसैले दैनिक पर्याप्त सुत्ने, योग, ध्यान तथा मनोरञ्जनका गतिविधिमा समय दिनुपर्छ।

६. नियमित स्वास्थ्य परीक्षण गर्ने

परिवारमा मधुमेहको इतिहास भएका, अधिक तौल भएका, शारीरिक रूपमा कम सक्रिय रहने तथा उच्च रक्तचाप भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ।