काठमाण्डु – छठ पर्वको दोस्रो दिन शनिबार ‘खरना’ मनाइँदैछ । यसअघि पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुले ‘नहाय–खाय’ गरेका थिए ।
पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ । यो विधिलाई खरना भनिन्छ ।
छठलाई मिथिलामा लोकआस्थाको महापर्व भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि पर्वका मुख्यपक्ष मानिन्छन् । यिनै निष्ठामा रहेर खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाडामा सख्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । शनिबार दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।
पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा सझुका अरख वा सझियाघाट भन्ने गरिएको छ ।
त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदा सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिइँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पु¥याउने गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार रहन्छन् । यी परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइन्छ ।


प्रतिक्रिया