काठमाण्डु – अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि हजारौं हवाइ उडान अवरुद्ध भएका छन्।
एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि अमेरिकाभरका उडान रोकिएका छन् । सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकी हवाई सेवामा पहिलोपटक यति व्यापक असर परेको हो ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो। यो घटनाले अमेरिकी हवाई सेवा अस्तव्यस्त बनाएको थियो।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का पूर्वप्रमुख रोबर्ट एल समवाल्टले सन् २००१ को आक्रमणपछि अमेरिकी उडानमा यति व्यापक अवरोध कहिल्यै नभएको बताएका छन् । उनले आधुनिक प्रविधिको युगमा पनि यस्तो समस्या आउनु आश्चर्यजनक भएको बताए ।
अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले घटनापछि अमेरिकामाथि कुनै आक्रमण भएको संकेत नरहेको र सबै सुरक्षित रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समस्या साइबर आक्रमण वा एआईका कारण भएको जस्तो नदेखिएको स्पष्ट पारेका छन् ।
यसअघि अमेरिकी विमान अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै सबै उडान रोक्न आदेश दिएका थिए । उनीहरूले अवस्थालाई असाधारण परिस्थिति भनेका थिए । यसबाट विमानस्थलमा ठूलो संख्यामा यात्रु अलपत्र परेका छन् । एयर क्यानडाले अमेरिका र क्यानडाबीचका सबै उडान शुक्रबार साँझसम्म रद्द गरेको थियो ।
यस समस्याका कारण करिब पाँच हजार उडान रद्द भएका छन् भने हजारौँ उडान ढिला भएका छन्। उडानसम्बन्धी तथ्यांक उपलब्ध गराउने संस्था सिरियमका अनुसार करिब १५ लाख यात्रु प्रभावित भएका छन्। हवाई ट्राफिक अवरुद्ध भएपछि आकाशमा रहेका विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।


प्रतिक्रिया