काठमाण्डु- ब्राजिलका महान् फुटबलर रोनाल्डिन्हो ११ वर्षपछि प्रतिस्पर्धात्मक फुटबलमा फर्किने भएका छन्। ४६ वर्षीय रोनाल्डिन्होले इटालीको तेस्रो डिभिजन क्लब रेभेनाबाट आइतबार पहिलो खेल खेल्ने तयारी गरेका हुन्।
रेभेनाले स्थानीय प्रतिद्वन्द्वी फोर्लीको सामना गर्दा रोनाल्डिन्हो पहिलो रोजाइमै मैदान उत्रिने क्लबका प्रशिक्षक आन्द्रेया मान्डोर्लिनीले बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रशिक्षक मान्डोर्लिनीले रोनाल्डिन्होले खेलको सुरुदेखि नै खेल्ने पुष्टि गरेका हुन्। उनका अनुसार रोनाल्डिन्हो टोलीका तीन अग्रपंक्तिका खेलाडीमध्ये एक हुनेछन्। उनले कति समय खेल्ने भन्ने निर्णय भने खेलकै अवस्थाअनुसार गरिनेछ।
रोनाल्डिन्होले पछिल्लो पटक सन् २०१५ को सेप्टेम्बरमा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट प्रतिस्पर्धात्मक फुटबल खेलेका थिए। त्यसयता उनी कुनै पनि प्रतिस्पर्धात्मक खेलमा सहभागी भएका छैनन्।
सन् २००५ मा बालोन डीुओर जितेका रोनाल्डिन्होले अगस्टमा रेभेनासँग आबद्ध भएका थिए। उनी सुरुमा क्लबमा लगानीकर्ताका रूपमा जोडिएका थिए। तर, आफ्नो खेलजीवनको अन्तिम गोल गर्दै करिअरमा ३०० गोल पूरा गर्ने उनको इच्छा रहेको बताइएको छ।
क्लबका मालिक इग्नाजियो सिप्रियानीका अनुसार रोनाल्डिन्होको मैदान फर्किने उद्देश्य आफ्नो खेलजीवनको अन्तिम गोल गर्ने चाहना पूरा गर्नु हो। यो केवल प्रचारका लागि गरिएको निर्णय नभएको उनको भनाइ छ।
शुक्रबार इटाली पुगेका रोनाल्डिन्होले आइतबारको खेलअघि टोलीका सहकर्मीसँग केवल एक प्रशिक्षण सत्रमा सहभागी हुनेछन्।
उनको पुनरागमन हेर्न समर्थकको ठूलो भीड आउने अपेक्षा गरिएको छ। त्यसलाई ध्यानमा राख्दै रेभेनाले आफ्नो घरेलु मैदान स्टेडियो ब्रुनो बेनेलीमा अस्थायी प्यारापिटसमेत निर्माण गरेको छ।
रेभेना १३ खेलबाट दोस्रो स्थानमा छ। आइतबारको खेलमा टोलीले पेनाल्टी पाए रोनाल्डिन्होले नै प्रहार गर्ने सम्भावना रहेको फरवार्ड सिमोने राब्बीले बताएका छन्।
रोनाल्डिन्होले ब्राजिलबाट सन् २००२ को विश्वकप जितेका थिए। बार्सिलोना र एसी मिलानबाट समेत खेलेका उनी आधुनिक फुटबलका सर्वाधिक प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छन्।


प्रतिक्रिया