भारतसँग बालेनले के कुरा राख्ने ? साउदले दिए ऊर्जा, पर्यटन र सीमाका एजेण्डा

भारतसँग बालेनले के कुरा राख्ने ? साउदले दिए ऊर्जा, पर्यटन र सीमाका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत जाने तयारीमा छन्। गत चैत १३ गते प्रधानमन्त्री भएका उनी करिब ८ महिनापछि कुनै देशको औपचारिक भ्रमणमा निस्किन लागेका हुन्।

तर भ्रमणकव औपचारिक घोषणा दुवै देशबाट अझैसम्म भएको छैन। भ्रमणका लागि सुझाव लिन बालेनले छलफल पनि थालेका छैनन्। उनको सम्भावित भारत भ्रमणलाई आर्थिक दृष्टिले उपलब्धिमूलक बनाउनुपर्ने कुरा उठिरहेको छ।

पञ्चेश्वरदेखि नयाँ हवाई रुट तथा थप आर्थिक मद्दत पनि लिनुपर्ने कुरा उठिरहेको छ। यस्तोमा पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउदले काठमाण्डुपाटीसँगको कुराकानीमा आर्थिक मुद्दालाई प्रमुखता दिनुपर्ने सुझाएका छन्।

भारतसँगको निकट सम्बन्ध र कूटनीतिक अनुभवका आधारमा साउदले प्रधानमन्त्रीको भ्रमणमा ऊर्जा, लगानी, पर्यटन, हवाई सम्पर्क र सीमा विवादका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।

साउदले विशेषगरी नेपालमा भारतीय लगानी भित्र्याउने र लामो समयदेखि चर्चामा रहेका ठूला पूर्वाधार परियोजनालाई कार्यान्वयनमा लैजाने विषयमा भारतसँग ठोस प्रतिबद्धता लिनुपर्नेमा जोड दिएका छन्।

पञ्चेश्वर, माथिल्लो कर्णाली र तल्लो अरुणजस्ता जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया समयमै अघि बढाउन भारतसँग पहल गर्नुपर्ने उनले सुझाए। नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा बिक्री गर्ने र भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने सम्भावना रहेकाले ऊर्जा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नु आवश्यक रहेको उनको धारणा छ।

नेपालको पर्यटन प्रवर्द्धनलाई पनि भारत भ्रमणको महत्त्वपूर्ण एजेण्डा बनाउनुपर्ने साउदको सुझाव छ। भारत आउने तेस्रो मुलुकका पर्यटकलाई नेपालसम्म आकर्षित गर्न सके नेपालको पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने उनले बताए। त्यसका लागि नेपालका पर्यटन पूर्वाधार र पर्यटकीय मार्गलाई भारतीय पर्यटनसँग जोड्ने योजना बनाउनुपर्ने उनले बताएका छन्।

त्यस्तै, पोखरा र भैरहवामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भारतको सहयोग खोज्नुपर्ने साउदको सुझाव छ। यी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न तथा नेपाललाई थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग पहल गर्नुपर्ने उनले बताएका छन्।

धार्मिक पर्यटन र आर्थिक गतिविधि विस्तारका लागि जनकपुर–अयोध्या रेलमार्गको अवधारणालाई पनि अघि बढाउनुपर्ने उनको भनाइ छ। भारतको सहयोगमा निर्माण भएका पूर्वाधार परियोजनाको संयुक्त उद्घाटन तथा सञ्चालनले दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सक्ने साउदले बताएका छन्।

सीमा विवादको विषयलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने उनको सुझाव छ। कालापानी, लिपुलेक र सुस्तालगायतका विवादित क्षेत्रका समस्या ऐतिहासिक तथ्य, प्रमाण र सन्धि सम्झौताका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने साउद धारणा राखेका छन्।

भारतसँगको व्यापार घाटा कम गर्ने, नेपालमा विदेशी लगानी भित्र्याउने र भ्रमणलाई आर्थिक लाभसँग जोड्ने विषयमा पनि उनले जोड दिएका छन्। प्रधानमन्त्रीको भ्रमण औपचारिक भेटघाटमा मात्र सीमित हुन नहुने उनको मत छ। त्यसबाट नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा प्रत्यक्ष लाभ पुग्ने परिणाम हासिल हुनुपर्ने उनले बताए।

यद्यपि, लामो समयदेखि थाती रहेका सबै विषय एउटै भ्रमणबाट समाधान हुने अपेक्षा गर्न नहुने साउदको सुझाव छ। संवेदनशील विषयमा हतारमा निर्णय लिनुभन्दा स्थापित द्विपक्षीय संयन्त्र र निरन्तर संवादमार्फत समाधान खोज्नुपर्ने उनले बताएका छन्।

नेपालमा नयाँ राजनीतिक नेतृत्व आएपछि भारतसँगको सम्बन्धले कस्तो दिशा लिन्छ भन्ने चासो बढिरहेका बेला साउदका सुझाव आएका हुन्। भारतसँगको कूटनीतिक सम्बन्ध र आर्थिक सहकार्यलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने चुनौती प्रधानमन्त्री शाहसामु छ। यस्तो अवस्थामा साउदले अघि सारेका ऊर्जा, पर्यटन, लगानी र सीमा विवादका विषय भारत भ्रमणका महत्त्वपूर्ण एजेण्डा बन्न सक्छन्।