काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका क्रममा उनी भारतको उत्तराखण्ड पनि जाने भएका छन्।
प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत भ्रमणमा जाने सम्भावित कार्यक्रम रहेको छ। भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सम्बन्धी विषय, महेन्द्रनगरमा प्रस्तावित सुख्खा बन्दरगाह तथा पर्यटन प्रवर्द्धनलगायत महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रस्तावित मितिबीच उत्तराखण्ड भ्रमणको अन्तिम कार्यक्रम तथा त्यहाँ हुने छलफलको आधिकारिक एजेन्डा भने अझै स्पष्ट हुन बाँकी छ।
नेपालमा नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई छिमेकी मुलुकबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यो उनको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हुनेछ। यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क गएका थिए।
नेपाल र भारतबीच भ्रमणको तयारीका विषयमा कूटनीतिक तहमा छलफल जारी रहेको छ। नोभेम्बरको सुरुमा भारतीय विदेश सचिव विक्रम मिस्रीले काठमाण्डु भ्रमण गरी प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाललगायत वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी, विकास सहकार्य तथा दुई देशका नागरिकबीचको सम्पर्क विस्तारलगायत विषयमा छलफल भएको थियो।
उत्तराखण्डका मन्त्री सतपाल महाराजले प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी दिँदै नेपालका प्रधानमन्त्रीसँगै पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) पनि उत्तराखण्ड आउने बताएका छन्। यसबाट दुई देशबीच धार्मिक तथा पर्यटन सम्बन्धलाई थप बलियो बनाउन विशेष जोड दिइने सम्भावना रहेको उनले बताए ।
नेपालका प्रधानमन्त्रीसँग हुने वार्तामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना प्रमुख विषयका रूपमा रहने मन्त्री महाराजले जानकारी दिए।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुई देशबीच हुने लाभको बाँडफाँटसँग सम्बन्धित विषयका कारण लामो समयदेखि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
आयोजना अघि बढेमा विद्युत् उत्पादन, सिँचाइ तथा बाढी नियन्त्रणका क्षेत्रमा दुवै देशलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री महाराजले नेपालसँग जोडिएको भारतीय सीमासँग सम्बन्धित समस्या तथा आपसी सहकार्यका विषयमा पनि छलफल हुने बताए। त्यसैगरी, महेन्द्रनगरमा प्रस्तावित सुख्खा बन्दरगाहका विषयमा पनि नेपालका प्रधानमन्त्रीसँग कुराकानी हुने सम्भावना रहेको उनले उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पूर्णागिरि–सिद्धबाबा धार्मिक पर्यटनलाई जोड
नेपालका प्रधानमन्त्रीसँग पर्यटनमन्त्रीको समेत सहभागिता हुने सम्भावनालाई उत्तराखण्डको पर्यटन क्षेत्रका लागि पनि महत्त्वपूर्ण मानिएको छ। मन्त्री महाराजले दुई देशबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना रहेको बताएका छन्।
पूर्णागिरि माताको दर्शनसँगै नेपालस्थित सिद्धबाबा मन्दिरको यात्रा पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। स्थानीय धार्मिक मान्यताअनुसार सिद्धबाबाको दर्शनबिना पूर्णागिरि माताको यात्रा अधुरो मानिने गरिन्छ।
पूर्णागिरि माता मन्दिर क्षेत्रमा एलिभेटेड ट्र्याक निर्माणको कामसमेत भइरहेको छ। उत्तराखण्ड सरकारले नेपालसँग सहकार्य गरेर यो धार्मिक पर्यटन मार्गलाई थप विकसित गर्न चाहेको जनाएको छ। यसबाट दुवै देशका श्रद्धालु तथा पर्यटकले सहज र सुविधाजनक यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ।
कर्बेट र चितवन राष्ट्रिय निकुञ्जलाई जोड्ने सम्भावना
उत्तराखण्डको जिम कर्बेट राष्ट्रिय निकुञ्ज र नेपालको चितवन राष्ट्रिय निकुञ्जबीच पर्यटन सम्बन्ध विस्तार गर्ने सम्भावनाबारे पनि विचार गर्न सकिने मन्त्री महाराजले बताएका छन्।
दुवै देशका यी प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यबीच समन्वय तथा पर्यटन गतिविधि बढाउन सके क्षेत्रीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।
महाराजका अनुसार नेपालका प्रधानमन्त्रीको भ्रमण केवल औपचारिक भेटघाटमा सीमित नहुने र यसले दुई देशबीच आपसी सहयोग, व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई नयाँ दिशा दिने अवसर सिर्जना गर्न सक्नेछ।


प्रतिक्रिया