काठमाण्डु– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पछिल्लो धारणा सार्वजनिक गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले मंगलबार (नोभेम्बर १०) नयाँदिल्लीमा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको बताएका छन्।
उनलेे भ्रमणको मिति तथा अन्य एजेन्डामा दुवै देशबीच छलफल जारी रहेको बताएका हुन्।
पत्रकारले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र त्यसको तयारीबारे सोधेको प्रश्नको जवाफ दिँदै जयस्वालले भने, ‘नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइएको छ। भ्रमणका विवरणबारे दुई पक्षबीच छलफल भइरहेको छ।’
उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने पनि स्पष्ट पारे।
‘नेपालसँगको हाम्रो द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयाममा छलफल हुनेछ। यो विस्तृत र विशेष साझेदारी हो। पारस्परिक हितका सबै विषयमा कुराकानी हुनेछ,’ जयसवालले भने।
उनको भनाइले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको संकेत गरेको छ। यद्यपि, भ्रमणको औपचारिक मिति र विस्तृत कार्यसूची भने अझै सार्वजनिक गरिएको छैन।
भारतीय विदेश सचिवको दुईदिने नेपाल भ्रमण
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीकै सिलसिलामा भारतीय विदेश सचिव विक्रम मिस्रीले गत नोभेम्बर ४ र ५ मा नेपालको दुईदिने औपचारिक भ्रमण गरेका थिए।
परराष्ट्र सचिव अमृतबहादुर रायको निमन्त्रणामा काठमाडौं आएका मिस्रीले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलगायतसँग भेटवार्ता गरेका थिए।
उनले नोभेम्बर ५ मा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश सुनाउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी, सम्भावित कार्यसूची र भ्रमणका क्रममा अघि बढाउन सकिने सहकार्यका नयाँ क्षेत्रहरू मिस्रीको भ्रमणका प्रमुख विषय थिए।
मिस्री र नेपाली परराष्ट्र सचिव रायबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्नुका साथै व्यापार, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास, सम्पर्क सञ्जाल र विकास सहकार्यका विषयमा छलफल भएको थियो।
यसअघि नै भारतले प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निम्तो दिएको सार्वजनिक गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको शाहको भारत भ्रमण उनको प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।
दुवै देशका अधिकारीहरूबीच भ्रमणको तयारी अघि बढे पनि मिति र कार्यसूचीबारे अन्तिम सहमति सार्वजनिक भएको छैन। भारतीय विदेश मन्त्रालयका प्रवक्ताको मंगलबारको भनाइले भ्रमणको तयारी र त्यसको कार्यसूचीबारे दुई देशबीच कूटनीतिक तहमा छलफल जारी रहेको देखाएको छ।


प्रतिक्रिया