भरतपुरमा आर्थिक चलखेल भएको भन्दै एमालेले गरायो निर्वाचन आयोगको ध्यानाकर्षण

भरतपुरमा आर्थिक चलखेल भएको भन्दै एमालेले गरायो निर्वाचन आयोगको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमाले चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको भन्दै एमालेले आवश्यक छानबिन गरी उक्त कार्य रोक्न माग गरेको छ ।

‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आममतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न एमाले चितवन जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा राज्य पक्षबाट भएको यस्ता कार्यले निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको बताइएको छ । आचारसंहिताको गम्भीर उल्लंघन गर्ने माओवादी केन्द्र र कांग्रेसका भरतपुर र माडीका उम्मेदवारको उम्मेदवारी रद्द गर्नसमेत उनले माग गरेका छन् ।