काठमाण्डु – मधेस प्रदेशको जिल्ला पर्सामा नेकपा एमाले सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । जिल्लाका १४ मध्ये १३ वटा स्थानीय तह निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार ५ पालिका प्रमुख र सात उपप्रमुख जितेर एमाले पहिलो दल बनेको हो ।
वीरगञ्ज महानगरपालिकाको मतगणना जारी छ । एमालेले वीरगञ्जपछिको ठूलो नगरपालिका पोखरिया र पर्सागढी नगरपालिकासहित ठोरी, छिपहरमाई र सखुवा प्रसौनी गाउँपालिकाको प्रमुख जितेको छ । ०७४ को निर्वाचनमा एमालेले २ पालिका प्रमुख जितेको थियो ।
त्यस्तै नेपाली कांग्रेस ४ स्थानीय तहको प्रमुख जितेर दोस्रो दल बनेको छ । कांग्रेसले पटेर्वासुगौली, जगरनाथपुर, पकहामैनपुर र जिराभवानी गाउँपालिकामा प्रमुख जितेको छ । अघिल्लो चुनावमा कांग्रेसले तीन पालिका प्रमखु जितेको थियो ।
वीरगञ्जको मेयर जित्दै गरेको जनता समाजवादी पार्टीले हालसम्म धोविनी गाउँपालिका, कालिकामाइ गाउँपालिका र बहुदरमाई नगरपालिकाको प्रमुख जितेर तेस्रो दल बनेको छ । ०७४ सालको परिणामका आधारमा जिल्लामा तत्कालीन संघीय समाजवादी फोरम पहिलो दल हो । उसले चारवटा पालिका जितेको थियो ।
विन्दबासनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । रोचक त के छ भने जसपा र लोसपाले कुनै पनि पालिकामा उपप्रमुख पद जित्न सकेका छैनन् । जिल्लामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निल भएका छन् । वीरगञ्ज जितेपछि जसपा र कांग्रेस बराबर हुनेछन् ।
मधेस आन्दोलनको कारण अघिल्लो स्थानीय निर्वाचनमा दयनीय अवस्थामा रहेको एमालेले यसपटक भने पर्सामा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।




प्रतिक्रिया