प्रहरी जनपदतर्फ ‘पूजा सिंह’ पहिलो महिला एआईजी

प्रहरी जनपदतर्फ ‘पूजा सिंह’ पहिलो महिला एआईजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका डिआईजी पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफरिस भएकी छन् । गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको सोमबार बसेको बैठकले वरीयता कायम गर्दै डिआईजी सिंहसहित पाँच जनालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिंहसँगै डिआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी र मुकुन्दराज आचार्य सिफारिस भएका छन् । उनीहरुको बढुवाविरुद्ध उजुरी पर्ने संभावना कम छ । किनकी बाँकी रहेका तीन जना डीआईजी उनीहरुभन्दा जुनियर छन् । केही साता पहिले मात्रै मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य डीआईजीमा बढुवा भएका थिए ।

यसअघि वैशाख १९ गते एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्तकुमार पन्त अनिवार्य अवकाशमा गएपछि चार एआईजी रिक्त भएको थियो । धीरजप्रताप सिंह आईजीपीमा बढुवा भएपछि अर्को पनि एआईजी रिक्त भएको हो ।

गत शुक्रबार वसन्तकुमार लामा एआईजीमा बढुवा भएपनि उनी शनिबारदेखि नै अनिवार्य अवकाशमा गएपछि रिक्त एआईजीको संख्या ५ पुगेको थियो । नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ । विश्वराज पोख्रेल, सहकुल थापा र रवीन्द्र धानुक कार्यरत छन् ।

प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा यसअघिबाटै कार्यरत छन् । प्राविधिक तर्फ प्रहरी अस्पतालमा पहिलो महिला एआईजी भने डा. दुर्गा थापा हुन् । सुरुमा प्राविधिक तर्फ सई रहेकी पार्वती थापा र असई रहेका बिमला थापा भने जनपदतर्फ डीआईजीसम्म पुगेका थिए ।

पार्वती भने आईजीपीको लाइनमा थिइन् । सरकारले त्यतिबेला उपेन्द्रकान्त अर्याललाई एआईजीमा बढुवा गरेपछि थापा आईजीपीका लागि सर्वोच्चसम्म पुगेकी थिइन् । तर सर्वोच्च अदालतले उनको मुद्दामा सुनुवाई नगर्दै उनी डीआईजीमै अवकाश हुनु परेको थियो ।

सिंह नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको एआईजी हुने पहिलो महिला अधिकृत हुन् ।  बिगत तिन दशकदेखि प्रहरी सेवामा समर्पित रहदै आएकी सिंह प्रहरीभित्र निडर र हक्की स्वभावकी प्रहरीकृत भनेर चिनिन्छिन् ।

२०४९ सालमा पूजासंगै नेपाल प्रहरीमा प्रबेश गर्ने बिश्व पोख्रेल, उत्तम सुवेदी, रबिन्द्र धानुक, दिवेश लोहनी, बसन्त लामा र धिरज प्रताप सिंह हुन् । उक्त ब्याचबाट प्रतिस्पर्धामा आउनेमध्ये सिंह एक मात्र महिला थिइन ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय मिसन कमाण्ड गर्ने सिंह पहिलो महिला प्रहरी अधिकृत पनि हुन । भूकम्पका बेला काभ्रे जिल्ला प्रहरी प्रमुखका रूपमा समेत उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण मानिन्छ । पूर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयमा रहँदा उनले गरेको ट्राफिक ब्यवस्थापनको चर्चा अहिले पनि पूर्वाञ्चलबासीहरु गर्छन ।

पूर्वाञ्चलमा यायतायात ब्यवसायीलाई तह लगाएको भनी सर्वसाधारणबाट उनले ‘बहादुर आइमाई’ को संज्ञा पाएकी थिइन् । प्रतिस्पर्धाबाट अगाडि बढ्दै आएकोले आफुलाई प्रहरी अधिकृत मात्र भन्न रुचाउने पूजा समावेसीको कुरा गर्दा महिला र मधेशी दुवै हुन् । उनी आगामी चैत ११ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछिन् ।