काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणलाई टुंगोमा पुर्याउने बताएका छन् । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा प्रहरी मुख्यालय नक्सालमा बिहिवार पत्रकार सम्मेलन गर्दै उनले निर्मला हत्या प्रकरणको अनुसन्धान निष्कर्शमा पुगाउने बताएका हुन् ।
कंचनपुरकी निर्मला पन्तको ४ वर्षअघि बलात्कारपछि हत्या भएपनि उनका हत्यारा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । तर, सिंहले उक्त घटनाको अनुसन्धान जारी रहेको भन्दै आफ्नो कार्यकालमा यो विषय प्राथमिकतामा रहेको बताए ।
प्रहरी महानिरीक्षक भएको एक महिना पुगेलगत्तै बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेका सिंहले प्रहरीमा गलत काम गर्नेमाथि कार्वाहीको सुरुवात भइसकेको दावी गरे । उनले सरुवा र बढुवाको हकमा न्यायोचित निर्णय लिने बताए । सिंहले ब्याचलाई नै मिचेर बढुवा नगर्ने र सोर्सफोर्स लगाउनेलाई बढुवा नदिने चेतावनी समेत दिए ।
‘प्रहरीमा सरुवा बढुवा मेरिटको आधारमा गर्छौ,शक्ति केन्द्रबाट दबाव आयो भन्दैमा ब्याच नै मिचेर कसैलाई अघि ल्याईने छैन । कामको आधारमा मुल्यांकन हुन्छ । शक्तिकेन्द्रबाट दबाव दिनेको हामी रेकर्ड राख्छौं । ’ आईजीपी सिंहले पत्रकार सम्मेलनमा भने ।
आफ्नै ब्याचका एआईजीहरुलाई समेत संगै राख्दै पत्रकार सम्मेलनमा उपस्थित भएका सिंहले आफ्ना पूर्ववर्ती प्रहरी महानिरीक्षकले अघि सारेका राम्रा कामलाई नै अघि बढाउने बताए ।
उनले प्रहरी समायोजन,अपराध नियन्त्रण र मानवअधिकारको सम्मान गर्ने काम नै आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए । विगतमा अघि सारेका योजना राम्रा भएपनि कार्यान्वयनमा समस्या भएको उनले दावी गरे ।
आईजीपी सिंहले संयुक्त राष्ट्रसंघमा प्रहरी कर्मचारीहरुको बढी सहभागिताबारे आफुले प्रयास गर्ने बताए । उनले त्यसका लागि आफुले काम थालेको जानकारी दिए । सिंहले कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति बनाएर नै काम अघि बढाइएको जानकारी दिए ।




प्रतिक्रिया