आईजीपीकाे निर्देशनपछी सशस्त्रका चार सय घुमुवा फिर्ता, सूचना संकलनका लागि छुट्टै टिम बनाईने

आईजीपीकाे निर्देशनपछी सशस्त्रका चार सय घुमुवा फिर्ता, सूचना संकलनका लागि छुट्टै टिम बनाईने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले घुमुवाका नाम परिचालित सशस्त्रका जवानहरुलाई फिर्ता बोलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सादा पोसाकमा खटिएका सशस्त्रका जवानहरुलाई देशभरबाट फिर्ता बोलाउन निर्देशन भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशनमा करिब चार सय घुमुवालाई एकै पटक फिर्ता बोलाइएको सशस्त्रले जनाएको छ । उनिहरुलाई सूचना संकलनको लागि राखिएपनि कतिपय अधिकारीहरुले आर्थिक लाभका लागि दुरुपयोग गरेको गुनासोपछी यो कदम चालिएको हो ।

सूचना संकलनका नाममा सीमा क्षेत्रमा खटिएका घुमुवाहरुका कारण संगठन वदनाम भएपछि महानिरीक्षक अर्यालले यसमा सुधार थालेका हुन् । दुई नम्बर प्रदेश हेर्ने जिम्मेवारी पाएको छिन्नामस्ता बाहिनीका बाहिनीपति डिआईजी गणेश ठांडाका घुमुवा हतियार खरिद प्रकरणमा फसेको समाचार सार्वजनिक भएको थियो ।

हतियार कारोबारमा घुमुवाको नाम मुछिएपछी नेपाल प्रहरीले उनिहरुलाई पक्राउ समेत गरेको थियो । यद्यपी ठाडाको यसमा संलग्नता नभएको बताइन्छ ।

सशस्त्रले अव सादा पोसाकमा खटिनेहरुलाई छुट्टै परिचयपत्रको व्यवस्था गर्न लागेको छ । त्यसका साथै उनिहरुले इन्टेलिजेन्ससम्बन्धी तालिम समेत अनिवार्य गरेको हुनुपर्नेछ । सुचना संकलनका लागि राखिएका घुमुवाहरुलाई उच्च अधिकारीहरुकै संरक्षणमा गैर व्यवसायिक काममा लगाउने गरेको पाइएपछी अर्यालले कडा कदम चालेका हुन् ।

सशस्त्र प्रहरी प्रवक्ता डिआईजी विदुर खड्काले महानिरीक्षकको निर्देशनमा सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गर्न लागिएको बताए । उनले यसलाई अझै व्यवस्थित गर्न लागिएको जानकारी समेत दिए ।

सशस्त्रले एक साताअघि नै मातहतका निकायमा परिपत्र जारी गर्दै कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनी समेत दिएको छ । सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा कर्मचारी खटाउँदै आएका छन् ।

अर्यालले आफु महानिरीक्षक पदमा नियुक्त भएलगत्तै कर्मचारीको हितमा १० बुदे निर्णय गरेका थिए । उनले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने दावी समेत गरेका थिए ।