अनडफमा नेपाली सेनाका जर्नेलले फोर्स कमान्डरको जिम्मेवारी पाउने सम्भावना बढ्यो

अनडफमा नेपाली सेनाका जर्नेलले फोर्स कमान्डरको जिम्मेवारी पाउने सम्भावना बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका एक उच्च अधिकारीले संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी पाउने सम्भावना बढेको छ । सेनाको युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी निर्मल कुमार थापाले शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाउने सम्भावना बढेको छ ।

थापाको छनौट भइसकेपनि अन्तिम नियुक्ति भने भइसकेको छैन् । उनलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले चांडै फोर्स कमाण्डरमा नियुक्त गर्ने सम्भावना बढेको सैनिक स्रोतको दावी छ ।

‘उहांको छनौट भइसकेको छ । फौंजको योगदान पुर्याउने मुलुकको हिसावले नेपाल अघि रहेकाले पनि कहि न कहि उच्चस्तरको नियुक्ति दिनैपर्ने हुन्छ । त्यसैले छनौटमा अन्तिमसम्म पुगेकाले पनि उहांको नै अन्तिम नियुक्ति हुन्छ होला ।’ सेनाका एक उपरथीले काठमाण्डुपाटीसंग भने ।

थापाले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्ने अवसर पाउने सम्भावना बढेको छ । उनको नियुक्तिका लागि नेपाली सेनाले राष्ट्रसंघका प्रभावशाली सदस्य राष्ट्रहरुसंग लविङ सुरु गरिसकेको छ ।

उक्त मिसनमा नेपाललगायत झण्डै ४० देशका सैनिक कार्यरत रहेका छन् । हाल नेपाली सेनाका अवकासप्राप्त रथी ईश्वर हमाल अनडफ मिसनको प्रमुखका रुपमा कार्यरत छन् ।

उनले सेनाबाट अवकास पाइसकेका छन् । तर, सेनाले उनको पद कायम रहेसम्मका लागि रथी पदमा रहने गरी मन्त्रिपरिषदबाट स्विकृती लिएर राखेको छ । यसअघि नेपाली सेनाकै उपरथी शिवराम खरेल कार्यवाहक प्रमुखका रुपमा कार्यरत थिए ।

बंङगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका थापा राष्ट्रसंघीय शान्ति मिसनमा छनौट भएको खण्डमा यूएनको उच्च तहमा जिम्मेवारी पाउंने सातौं सैनिक अधिकारी हुनेछन् । थापाको यूएनमा छनौट नभए सेनाको सम्भाररथी विभागको प्रमुखमा सरुवा हुने सम्भावना थियो ।

अनडफ मिसनको हेडको रुपमा यसअघि प्रधानसेनापतिबाट अवकास पाएका पूर्णचन्द्र थापाले सन् २०१५ मा जिम्मेवारी पाएका थिए । उपरथी निर्मल थापासंग राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सह संयोजक,सैनिक सचिव र युद्धकार्य महानिर्देशकजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ ।

नेपाली सेनाबाट यसअघि हमालसहित पूर्वरथी बालानन्द शर्माले सन् ००४ देखि ०६ सम्म हेड अफ मिसन कमान्डरको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी उपरथी चित्रबहादुर गुरुङले सन् २००० देखि ०२ सम्म तत्कालिन राष्ट्रसंघीय महासचिव कोफी अन्नानको सहायक सैनिक सल्लाहकार तथा कार्यबाहक सल्लाहकारको रूपमा काम गरेका थिए ।

त्यस्तै, रथी कृष्णनारायण सिंह थापाले सन् १९९३ देखि ०९५ सम्म इराक तथा कुवेतस्थित शान्ति सेनाको फोर्स कमान्डर, रथी भिक्ट्रीशमशेर राणाले सन् १९९९ देखि २००१ सम्म साइप्रसमा फोर्स कमान्डर, उपरथी पवनजंग थापाले सन् २००७–०८ मा सुडानस्थित फौजको फोर्स कमान्डरको जिम्मेवारी पाइसकेका छन् । सन् २०११ देखी नै गृहयुद्ध सुरु भएपछि संयुक्त राष्ट्रसंघले नेपाललगायत झन्डै ४० देशका सेना गोलानहाइटमा तैनाथ गरेको छ ।