काठमाण्डु – काठमाण्डु उपत्यकाभित्रका सडकको चर्चा बर्खायाममा र सुक्खायाममा हुने गर्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले गर्दा काठमाण्डुका सडकले चर्चा पाउने गरेको हो । हालसम्म यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
बागमती प्रदेशमा पनि मनसुनले प्रवेश गरेपछि प्राय दिनहुँ जसो वर्षा हुने गरेको छ । पछिल्लो समय दिनहुँ वर्षा भएसँगै काठमाण्डु उपत्यकाका सडक हिलाम्मे हुने गरेका छन् । सडकका खाल्डो र हिलोले सजिलै यात्रा गर्न सक्ने अवस्था छैन । नख्खु-भैंसेपाटी, चाबहिल-कलंकी, चाबहिल-जोरपाटीलगायतका सडकमा वर्षायाममा हिड्न एकदमै गारो हुन्छ ।
पछिल्लो समय काठमाण्डुमा सजिलै यात्रा गर्ने अवस्था नभएको बैतडीबाट स्नातक तहको अध्ययन गर्न काठमाण्डु आएका प्रकाश चन्द बताउँछन् । एकातिर सडकैभरि हिलो अर्कोतिर फोहोरको गन्धले कोठाबाट बाहिर निस्कन समेत गारो भएको चन्दको दावी छ । उनले काठमाण्डु उपत्यका बाहिरि जिल्लाका बासिन्दाहरूले सोचेभन्दा फरक रहेको पनि उल्लेख गरे ।
काठमाण्डुपाटीसँगको कुराकानीमा उनले भने, ‘ गाउँबाट पढाईको लागि काठमाण्डु आउन पाउँदा एकदमै खुसी लागेको थियो । देशकै राजधानीमा बाँकी पढाई गर्न पाउने भएपछि कसलाई खुसी नलाग्ला । सुरुमा आउँदाखेरि काठमाण्डुमा एकदमै विकास भएको होला सोचेको थिए । अर्कोतर्फ विद्यार्थीहरूलाई पढ्नको लागीसमेत राम्रो वातावरण होला भन्ने सोचेको थिए । तर यहाँ त मैलै सोचेकोभन्दा ठिक उल्टो रहेछ । बर्खायाममा त हामी जस्ता पैदल यात्रुहरूको लागि सडकको हिलोले गर्दा हिँडडुल गर्न सारै गारो हुँदो रहेछ । अर्को कुरा के भनेपछि काठमाण्डुको यो फोहोरको गन्धले गर्दा पनि मलाई अब गाउँमै गएर बस्नुपर्यो की जस्तो लाग्छ’
चन्दले काठमाण्डु उपत्यकाका सडक पानी परे हिलाम्य र घाम लाग्दा सडक धुलाम्य हुने गरको बताए । ‘सडक पानी परे हिलाम्य र घाम लाग्दा सडक धुलाम्य हुन्छन् । सडकको हिलो र धुलोले गर्दा हामीलाई मात्र होइन नेपाल घुम्न आउने बाह्य पर्यटकले समेत सास्ती खेप्नुपरेको छ । घाम लागेको समयमा धूलोले देख्न सकिन्न । सडकमा भएका खाल्डाले वारपार गर्न नसकिने अवस्था हुन्छ ।’, उनले भने ।
देशकै राजधानीभित्रका सडकको अवस्थाले गर्दा काठमाण्डुको वास्तविकता भने जस्तो नभएको चन्द बताउँछन् । उनले देशको अन्य स्थानीय तहको भन्दा काठमाण्डु महानगर विकासको गतिमा धेरै अगाडि हुनुपर्ने दावी गरे । तर देशकै राजधानीमा विकासको काम भने कछुवाको गतिमा अघि बढेको चन्दको भनाई छ ।
‘ काठमाण्डु महानगर अन्य स्थानिय तहको भन्दा विकासको हिसावले धैरे अगाडि हुनुपर्ने हो । तर काठमाण्डु महानगरको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढि रहेको अवस्था छ । काठमाण्डुलाई हेरेर देशभरको मूल्यांकन गर्न सकिन्छ । देशकै राजधानी भएको काठमाण्डु सुव्यवस्थित, सफा, हराभरा हुनुपर्ने हो । तर काठमाण्डुको वास्तविकता भने त्यस्तो छैन । काठमाण्डु उपत्यकाभित्रका सडकहरु र फोहोरले काठमाण्डुको वास्तविकता झल्काउँछ ।’, उनले भने ।




प्रतिक्रिया