काठमाण्डु- स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि नबढ्ने भएको छ । अमेरिकाले एसपीपी सम्झौता पारित गर्न सरकार र सेनालाई दबाव दिएपनि चौतर्फी विरोध भएपछी तत्काल यो अघि नबढ्ने भएको हो ।
अमेरिकी सेनाको प्यासिफिकका कमाण्डर जनरल चाल्र्स ए फ्लिनले नेपाल भ्रमणमा आएका बेला एसपीपी सम्झौतालाई अघि बढाइदिन उच्चस्तरिय राजनीतिक र सैनिक नेतृत्वलाई आग्रह गरेका थिए । तर, त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक भएपनि प्रधानसेनापति प्रभुराम शर्माले भने थप छलफल आवश्यक रहेको बताएका थिए ।
एसपीपीमा हस्ताक्षर गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपा समेत सहमत छैनन् । प्रमुख प्रतिपक्ष दल एमालेले समेत यसलाई अघि बढाउन नहुने धारणा राखिसकेको छ ।
अमेरिकाले एसपीपीको संशोधित मस्यौदा सेना र सरकारलाई बुझाइसकेको छ । प्रधानमन्त्री देउवाको यसलाई अघि बढाउने विषयमा कुनै आधिकारीक धारणा नआएपनि उनि सकरात्मक भएको रक्षा स्रोत बताउंछ । देउवाको अमेरिका भ्रमणमा यसले मूर्त रुप पाउने सम्भावना रहेको भन्दै त्यसमा विभिन्न आशंका भइरहेको छ ।
सेनाले भने यो आईपीएसको अंग भएकाले यसमा आफु सहभागि हुंदा अफ्ठेरो पर्ने भएकाले अघि नबढ्ने संकेत दिइसकेको छ । प्रधानसेनापति शर्मा समेत व्यक्तिगत रुपमा यसलाई अघि नबढाउने पक्षमा रहेको स्रोतको दावी छ ।
‘उहां (सेनापति)ले यसमा सांकेतिक रुपमा सहभागि हुन नसकिने बताइसक्नुभएको छ । अमेरिका भ्रमणको क्रममा समेत यसमा कुनै सम्झौता हुंदैन । फेरी यसमा राजनीतिक सहमति आवश्यक पर्ने हुन्छ । यो सेनाले चाहेर मात्र हुने कुरा होईन । ’ सैनिक मुख्यालमा कार्यरत एक उपरथीले भने ।
सेनाले समेत अमेरिकी सेनाका जनरलको भ्रमणलाई सदभावना भ्रमण मात्र भएको भन्दै त्यसमा यसबारेमा कुनै छलफल नभएको जनाएको छ । अमेरिकाले २०१५ मा नै एसपीपी सम्झौताको प्रस्ताव पठाएको थियो । तर, तत्कालिन सरकारले त्यसमा हस्ताक्षर गर्न अनिच्छा देखाएपछी यो रोकिएको थियो ।
नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै फेरी अमेरिकाले यसलाई अघि बढाउन ताकेता गरेको हो । प्रधानमन्त्री देउवा र प्रधानसेनापति दुवै अमेरिका भ्रमणमा जाने तयारीमा छन् ।
शर्मा असार १३ देखी १७ सम्म अमेरिका भ्रमणमा जाने टुंगो लागिसकेको छ । शर्माको भ्रमणअघि एक्कासी अमेरिकी सेनाको प्यासेफिक हेर्ने जनरलले नेपाल भ्रमणमा आउने इच्छा देखाएका थिए । भारत हुंदै नेपाल आएका अमेरिकी चार तारे जर्नेल फ्लिनलको नेपाल भ्रमण प्रधानमन्त्री र सेनापतिको भ्रमणअघि एसपीपीमा सम्झौताका लागि माहोल बनाउन भएको स्रोत बताउंछ ।




प्रतिक्रिया