गूप्तचरको बढुवामा समेत अर्थमन्त्री शर्माको हस्तक्षेप, प्रधानमन्त्री निरिह

गूप्तचरको बढुवामा समेत अर्थमन्त्री शर्माको हस्तक्षेप, प्रधानमन्त्री निरिह


काठमाण्डु– देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा एआईजी बढुवाको प्रस्ताव अलपत्र परेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकमा एआइजीको प्रस्ताव पेश भएपनि अर्थमन्त्री जनार्दन शर्माको विरोधले गर्दा उक्त प्रस्ताव अलपत्र परेको हो ।

प्रधानमन्त्री मातहत रहेको गूप्तचरको बढुवामा अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको स्रोतको दावी छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मंगलवार रिक्त एक एआइजी पदमा वरियतामा एक नम्बरमा रहेका डिआईजी कुलदिप थापाको नाम प्रस्ताव गरेका थिए ।

तर, शर्माले त्यसमा थप छलफल आवश्यक रहेको भनेपछी उक्त प्रस्तावमाथि निर्णय भएन् । प्रधानमन्त्री देउवा समेत अर्थमन्त्री शर्माको अघि निरिह बनेको एक मन्त्रीले काठमाण्डुपाटीलाई बताए ।

थापाले वरियतामा आफु एक नम्बरमा रहेको र साउनमा अवकास पाउने भएकाले एआइजीमा बढुवा गरेर न्याय दिन प्रधानमन्त्रीलाई कन्भिस गरेका थिए । प्रधानमन्त्री देउवा समेत सहमत भएपछी उनको नाम अघि सारिएको थियो । तर, त्यसमा अर्थमन्त्रीले विरोध गरेपछी उनको नाममा निर्णय भएन ।

यसअघि दुई साता अघि समेत एआइजी बढुवाका लागि प्रस्ताव मन्त्रिपरिषदमा गएपनि शर्माकै विरोधले रोकिएको थियो । थापा आफुलाई पद रिक्त हुंदा हुंदै पनि बढुवा नगरिएको भन्दै अदालत जाने तयारीमा रहेको उनि निकट स्रोतले जनायो ।

एआइजी बढुवाका लागि थापासहित ओम जोशी, हुतराज थापा र टेकेन्द्र कार्कीबीच प्रतिस्पर्धा छ । प्रधानमन्त्री देउवा कुलदिपपछी जोशीलाई बढुवा गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री शर्मा भने थापालाई बढुवा गर्ने पक्षमा छन् । उनले एआइजीको दरबन्दी सिर्जना गरेर भएपनि जोशी र थापालाई एकै दिन बढुवा गर्नुपर्ने अडान राखेका छन् ।

शर्माले ल्याएको बजेटको प्रशासनिक खर्चमा कटौती शिर्षकको ३७९ नम्बर बुदामा निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयां दरबन्दी थप गरिने छैन भन्ने विषय उल्लेख छ ।

३४ हजार दरबन्दी रहेको सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दीले काम गरिरहेको छ भने ३ हजार पुग नपुग संख्या भएको गूप्तचरमा थप दरबन्दी किन चाहियो भन्ने प्रश्न समेत छ । यसमा माओवादी र शर्माको स्वार्थ जोडिएको स्रोतको दावी छ ।

बढुवाका दावेदार रहेका डिआईजी जोशी कांग्रेस निकट हुन भने थापा माओवादी निकट भनेर चिनिन्छन् । कुनै बेला मन्त्री रहेका बालाराम घर्ती मगरका पिए रहेका थापा एआइजीमा बढुवा नभए भदौ १४ मा डिआईजीबाटै अवकास पाउंदैछन् ।

‘अहिले दरबन्दी सिर्जना गरेर जोशी र थापालाई एकै दिन बढुवा गर्ने र खरेलले अवकास पाएपछी कार्कीलाई एआईजी बनाउने गरी व्यवस्थापन गर्ने सरकारको योजना छ । ’ प्रधानमन्त्री निकट स्रोतले काठमाण्डुलाई बतायो ।

अहिले एआईजीमा बढुवा हुने डीआईजी हालका आईजीपी यदु खरेलले भदौ २३ मा अनिवार्य अवकास पाएसंगै आईजीपी हुने भएकाले पनि बढुवा लागि चर्को दौडधुपमा छन् ।