मन्त्री विमला वली अस्पताल भर्ना

मन्त्री विमला वली अस्पताल भर्ना


काठमाण्डु – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना भएकी छन् । गएराति दाङबाट बुटवल ल्याइएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

राति बेहोस अवस्थामा अस्पताल पुगेकी उनीमा प्रेसर र सुगर देखिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।

‘राति साढे १२ बजे बेहोस जस्तो अवस्थामा आउनुभएको थियो । उहाँको प्रेसर र सुगर पनि धेरै देखिएको छ । राति स्लाइन चलाएपछि रिकभर भयो । अहिले क्याविनमा राखेर उपचार भइरहेको छ ।’

मंगलबार दाङको तुल्सीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा गएर विवाद गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । एकराज बस्नेत नभएको बेला घरभित्रै पसेर उनकी श्रीमती र छोरीलाई हातपात गरेको भन्दै मीना भण्डारीले मन्त्री वलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

विमलालाई एकराजकै घरबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुल्सीपुरमा लगिएको थियो । तर मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा उनलाई बुटवल ल्याइएको छ ।