काठमाण्डु – नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन दुईपटक निवेदन दिएको अमेरिकी भनाईको सेनाले खण्डन गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग गर्दै नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले २०१९ मा अनुरोध स्वीकार गरेको बताएका थिए ।
नेपाली सेनामा त्यो बेला प्रधानसेनापति राजेन्द्र क्षत्री थिए । उनकै पहलमा एसपीपी अगाडी बढेको बताइन्छ । तर, सेनाले एसपीपीबारे केही थाहा नभएको बताउंदै आएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेको बेला एसपीपी सम्झौता हुनसक्ने आंकलन थियो । सेनापति शर्मा मात्र होईन प्रधानमन्त्री शेरबहादुर देउवा समेत अमेरिका भ्रमणमा जाने तयारीमा छन् । उनले सेनापति शर्मालाई समेत यसमा सकरात्मक बन्न आग्रह गरेको स्रोतको दावी छ । तर, शर्मा भने आफ्नो कार्यकालमा बिबादित यो कार्यक्रम अघि बढाउने पक्षमा छैनन् ।
अमेरिकी सेनाका चार तारे जनरल चाल्र्स ए फ्लिनको नेपाल भ्रमणको क्रममा समेत उनले यसलाई अघि बढाइदिन सैनिक र राजनीतिक नेतृत्वसंग आग्रह गरेका थिए । तर, अमेरिकाले प्रस्ताव गरेको एसपीपी कार्यक्रम अमेरिकाको सैन्य रणनीतिअन्र्तगत पर्ने भएकाले त्यसमा सामेल नहुन जनस्तरबाट समेत विरोध भइरहेको छ ।
एसपीपीको बारेमा सत्तारुढ दलभित्रै समेत विरोधमा आवाज उठेको छ । कांग्रेसका सांसद गगन थापा,माओवादी केन्द्रका सांसद देव गुरुङ र एमालेका सांसद प्रदिप ज्ञवालीले यो सम्झौतामा हस्ताक्षर गर्न नहुने आवाज संसद बैठकमै उठाएका थिए । बुधवार बसेको सत्ता गठबन्धनको बैठकमा समेत शिर्ष नेताहरुले यसबारे स्पष्ट पार्न आग्रह गरेपछी प्रधानमन्त्री देउवाले सहमति विना,देशको अहितमा कुनै सम्झौंता नगर्ने बताएपनि सार्वजनिक रुपमा अझै यसबारेमा जवाफ दिएका छैनन ।
अमेरिकी दूतवासाका उपप्रमुख मिकलरले एसपीपीमा कुनै पनि प्रस्तावित सम्झौता नभएको र अमेरिकाले दबाब नदिएको दावी गरेपनि यसलाई पारित गर्न भने चर्को दौडधूप छ । सेनाको बारेमा धेरै प्रश्न उठेपछी सैनिक मुख्यालयले बुधवार विज्ञप्तिमार्फत नै आफ्नो धारणा स्पष्ट पारेको छ ।
सेनाले यो सम्झौतामा अघि नबढ्ने भन्दै च्याप्टर नै क्लोज गरेको छ । सेनाको विज्ञप्तिमा भनिएको छ ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराईन्छ ।’
यस्तो छ सेनाको विज्ञप्ति-
विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपिपि (State Partnership Program)सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । एसपिपि सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको ।
साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी (Military Partnership)भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराईन्छ ।





प्रतिक्रिया