काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै शर्माले अमेरिकी सेनाको प्यासेफिक हेर्ने चार तारे जर्नेल चाल्र्स ए फ्लिनको नेपाल भ्रमणको क्रममा भएको भेटमा समेत आफुले नेपाल सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट भाषामा भनेको बताए ।
प्रधानसेनापतिको अमेरिका भ्रमणमा सैनिक सम्झौता हुन सक्ने टिप्पणी भइरहेका बेला उनले आफ्नो अमेरिका भ्रमणको क्रममा कुनै सम्झौता नहुने स्पष्ट पारे ।
उनले सैन्य गठबन्धनको आफुले पनि विरोध गर्ने भन्दै अमेरिकी अधिकारीहरुलाई समेत सैन्य गठबन्धन हुन्न भनेको दावी गरे । प्रधानसेनापतिले यसमा थप आशंका नगर्न आग्रह गर्दैै यसलाई निराकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।
अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शर्मा असार १३ देखि १७ सम्म पेन्टागन जान लागेका छन् । उनको भ्रमणलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा समेत अमेरिका भ्रमणमा जांदैछन् । संसद र सड्कमा दुवैको भ्रमण स्थगन गर्न आवाज उठिरहेको छ ।
नेपाली सेना र अमेरिकी सेनाबीच पछिल्ला वर्षमा संयुक्त सैन्य अभ्यास हुंदै आइरहेको छ । प्रत्येक वर्ष दुवै देशका सेनाहरुबीच हिमाली क्षेत्र र विपतको क्षेत्रमा अनुभव आदान प्रदान हुंदै आएको हो । तर, कतिपयले यसलाई छिमेकी मुलुक चीनलाई अमेरिकाले घेर्न नेपाललाई उपयोग गर्न लागेको अर्थमा बुझेका छन् ।
राष्ट्रपति र सभामुख भेटेपछी आयो सेनाको विज्ञप्ति
१० बुदे डकुमेण्ट संचारमाध्यममा सार्वजनिक भएसंगै सेनाले विज्ञप्ति जारी गरेको थियो । सेनाले हतार हतारमा विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेपछी सैनिक नेतृत्वको प्रशंसा भएको थियो । विज्ञप्ति जारी गर्नुअघि प्रधानसेनापति शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्नी सापकोटासंग भेटवार्ता गरेका थिए ।
सेनाले त्यस्ता कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको दावी गरेको थियो ।
‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत छ,’ सेनाले विज्ञप्तिमा भनेको थियो ।
हतारमा विज्ञप्ति जारी गरेकोमा सेनाको आलोचना
सेनाको विज्ञप्तिको सुरुमा सर्वत्र प्रशंसा भएपनि अमेरिकी दूतावासमा सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्र सार्वजनिक भएपछी भने सवैले त्यसको आलोचना गरेका छन् ।
सेनाजस्तो पुरानो र बलियो संस्थाको संस्थागत रेकर्डमाथी प्रश्न उठाइएको थियो । सैन्य मामिलामा रिपोर्टिंग गर्ने पत्रकार रामेश्वर बोहराले लेखेका छन् ‘जंगी अड्डाका चिफ’साब– जर्साबहरु, सेनामा ‘इन्स्टिच्युसनल मेमोरी’ यो हद्सम्म कमजोर बनेको हो कि परिस्थितिलाई (अरु केही खास कारणले) अलि बढ्तै नजरअन्दाज गरिएको हो ? जे भए पनि बर्बादीकै बाटो हो !’
चौतर्फी विरोधपछी सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले एसपीपीमा सहभागी हुन २०१५ मा पत्र पठाएको स्विकार गरे ।
तर,उनले कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि नभई पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि पत्रचार भएको बताए । त्यतिबेला इण्डो प्यासेफिक रणनीति (आईपीएस ) भन्ने नै नभएको सेनाको दावी छ । सेनाको दावीमा सत्यता भएपनि उसले जारी गरेको विज्ञप्तिले भने सेनालाई हल्का बनाएको छ ।
प्रधानसेनापति शर्माले समेत आजको बैठकमा समेत मानवीय सहयोगका लागि पत्र लेखेको स्विकार गरेका छन् । उनले त्यो बेला अमेरिकासहित २७ देशबाट सैनिक आएको कुरा सांचो भएको बताए ।
‘सेनाले पत्र लेखेको सांचो हो । तर, पत्र लेख्दैमा सैन्य गठबन्धन हुने होईन । म आफै पनि सैन्य गठबन्धनको विरोध गर्दछु । सेनाले विदेश मामिलासम्बन्धी विषय रक्षा र परराष्ट्रमन्त्रालयमार्फत गर्दै आएको छ । त्यसैले यसमा शंका नगरौं ।’ शर्माले आजको बैठकमा भनेका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसिप प्रोगाम (एसपीसी)को डकुमेन्ट सही नभएको बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै १० बुदे डकुमेण्ट सहि नभएको भन्दै उनले जनतालाई भ्रम छर्न खोजिएको दाबी गरे ।
कमजोर बन्दै सैनिक नेतृत्व
शर्माले आजको बैठकमा जे भनेपनी पछिल्लो समय उनको नेतृत्वमाथि प्रश्न चिन्ह खडा हुन् थालेको छ । यसअघिका प्रधानसेनापतिहरुको राष्ट्रिय मुद्दामा स्पष्ट दृष्ट्रिकोण हुने र राजनीतिक नेतृत्वसंगको सम्बन्ध समेत व्यवसायीक हुने भएपनि पछिल्लो समय उनको नेतृत्व कमजोर बनेको सेनाकै अधिकारीहरु बताउंछन् ।
सेनाले एम आई १७ हेलिकोप्टर खरिद गर्ने प्रकरणमा समेत उनि चुकेका छन् । सेनापति शर्माले अर्थमन्त्री जनार्दन शर्माको स्वार्थमा लागेर फाइल उनले भनेबमोजिम नै अगाडी बढाएका थिए । उनले दर्जन पटक अर्थमन्त्रालय नै धाएर उनको स्वार्थपूर्ति हुने गरी काम गरेको स्रोतको दावी छ । पछी अमेरिकाको दबावमा हेलिकोप्टर खरिदको फाइल रोकिएको थियो ।
प्रधानसेनापति शर्मा काठमाण्डु तराई द्रूर्तमार्गको काममा समेत अलमलमा परेका छन् । द्रुर्तमार्गमा काम गरिरहेको चिनियां कम्पनी अहिले कार्वाहीमा परेको छ । यसमा शक्तिकेन्द्रहको चलखेल बढेको सैनिक स्रोत बताउंछ । सेनाले यसमा काम गर्न नसकेको भन्दै आलोचित भएपनि उनले यसमा प्रभावकारी कदम चाल्न सकेका छैनन् ।
हतियार होईन जहाज लिएका हौं
प्रधानसेनापति शर्माले एसपीपीमा सुरुमा सैन्य गठबन्धन नभएको बताए । तर, २०१९ मा आईपीएसमा गएपछी भने सेनाले असजिलो हुन्छ भनेर सरकारलाई रिभ्यु गर्न भनेको दावी गरे ।
एसपीपीअन्र्तगत सेनाले चार वटा सैनिक जहाज लिएको उनले जानकारी दिए । तिमध्ये २ वटा आइसकेको र एउटा मेडिकल जहाज आउन लागेको र एउटा सर्भिलेन्समा रहेको उनले बताए । यो कार्यक्रमअन्र्तगत बम,बारुद र हतियार नआएको प्रधानसेनापति शर्माको भनाई छ ।




प्रतिक्रिया