काठमाण्डु – गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेल पुगेका डीएसपी मिलन केसीमाथि छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके बस्नेतलाई भेटेको समाचार बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाण्डुले जेठ ३१ मा एसपी दिनेशराज मैनाली नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
उक्त समितिले प्रतिवेदन बुझाएको काठमाण्डुका एसएसपी सुदिप गिरीले जानकार दिए । डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई भेटेको भन्दा पनि अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेकाे प्रतिवेदनमा उल्लेख छ ।
जेठ २९ मा उनले प्रहरी परिसर काठमाण्डुलाई जानकारी नदिई आफुसँगै अर्का एकजना गुण्डालाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए ।डीएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको छ ।
छानविन प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाइने एसएसपी गिरीले जानकारी दिए । समिरमानसिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन् ।




प्रतिक्रिया