प्रहरीको बढुवामा विचौलिया हावी, गृहमन्त्री निरिह


काठमाण्डु – नेपाल प्रहरीका डिआईजीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार सांझ बसेको बैठकले नेपाल प्रहरीका १७ एसएसपीहरुको डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष थिए भने सदस्यमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सदस्य सचिव एआईजी पुजा सिंह थिईन् । उनिहरुले नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीका लागि बढुवा सिफारीस गरेका हुन् ।

समितिले सिफारिस गरेको बढुवामा एसपीपीहरु वसन्त कुवर, टेकप्रसाद राई, अशोक सिंह,दीपक थापा, श्याम ज्ञवाली,किरण बज्रचार्य,सन्दिप भण्डारी,सुदिप गिरी,मिरा चौधरी,टेक बहादुर तामाङ,उमेश जोशी र भिमप्रसाद ढकाल रहेका छन् ।

त्यसैगरी एसएसपीहरु रामदत्त जोशी, पोषराज पोखरेल,बुद्धिराज गुरुङ,दुर्गा सिंह र किरण राणा डिआईजीका लागि बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस हुने एसएसपीहरुमा कुंवर, राई, सिंह, ज्ञवाली, बज्रचार्य, भण्डारी, चौधरी, जोशी,सिंह,राणा र पोखरेल २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

प्रहरीको डिआईजी बढुवामा विचौलियाहरु हावी भएको स्रोतको दावी छ । अहिले बढुवा हुने अधिकृत अहिलेकै ऐन नियम कायम रहे आगामी चैतपछी नयां महानिरीक्षकको दावेदार समेत हुने भएकाले बढुवामा ठुलो चलखेल भएको हो । यद्यपी प्रहरीमा ३० वर्षे सेवाअवधि हटाएर अहिलेकै महानिरीक्षकलाई राख्ने खेल समेत जारी छ ।

बढुवामा शक्तिकेन्द्र र विचौलियाको चलखेल भएकै कारण डिआईजी बढुवा लामो समयदेखी हुन सकेको थिएन । जवकी नेपाल प्रहरीमा अहिले ३ जना डिआईजी मात्रै कार्यरत छन् । प्रहरीमा डिआईजी नहुंदा काम कार्वाही नै प्रभावित भएको प्रहरी अधिकारीहरु नै बताउंछन् ।

नेपाल प्रहरीको सरुवा बढुवामा बिचौलियाहरु हावी हुंदा सधै विवाद हुने गरेको छ । यसपटक पनि विचौलियाहरु हावी भएको स्रोत बताउंछ । बढुवामा गृहमन्त्री बालकृष्ण खांड निरिह बनेका छन् । प्रहरीको बढुवामा प्रधानमन्त्री पत्नी आरजु देउवा र उनका साला भुषण राणा हावी भएको गृहस्रोत बताउंछ ।

बढुवाको सूचिमा एक नम्बरमा रहेका सन्दिप भण्डारीलाई ७ नम्बर पुर्याइएको छ । दुई नम्बरमा रहेका टेकप्रसाद राईलाई भने यथावत राखिएको छ । अख्तियार प्रमुख प्रेम राईले उनको वरियता नचलाउन प्रहरी महानिरीक्षक सिंह र गृहसचिव पाण्डेलाई दबाव दिएको स्रोतको दावी छ ।

तर,व्यवसायीक अधिकृतका रुपमा परिचय बनाएका भण्डारी बढुवामा पछी परेका छन् । जवकी १२ नम्बरमा रहेका बसन्त कुंवर भने एक नम्बरमा आएका छन् । उनलाई प्रधानमन्त्रीका साला भुषण राणाको दबावमा अघि ल्याइएको स्रोत बताउंछ । प्रहरी महानिरीक्षक सिंहको समेत उनलाई सहयोग थियो । कुंवर पनि व्यवसायीक अधिकृतकै रुपमा चिनिन्छन् । तर, उनको छलाङलाई भने धेरैले अस्वभाविक मानेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट सुरुमा वरियतामा ३ नम्बरमा रहेका एसएसपी उमेश जोशीको नाम एक नम्बरमा बढुवाका लागि सिफारिस थियो । तर,अन्तिममा उनलाई ११ नम्बरमा पुर्याइएको छ । उनि प्रधानमन्त्रीकै जिल्लावासी समेत हुन् ।

वरियतामा अघि रहेका रामदत्त जोशीलाई पांच नम्बरबाट १३ नम्बरमा पुगेका छन् भने एसएसपी दीपक थापा ६ नम्बरबाट ४ नम्बरमा आउन सफल भएका छन् । उनि २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकारी हुन् । उनको ब्याचबाट सुदीप गिरी ८ नम्बरमा,टेकबहादुर तामाङ १० नम्बरमा र भिम ढकाल १२ औं नम्बरमा बढुवा भएका छन् ।

बढुवामा प्रहरी प्रवक्ता समेत रहेका एसएसपी विष्णु केसी,भरत बहादुर बोहरा र राजेशनाथ बांस्तोलालगायत छुटेका छन् । उनिहरु प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । एसएसपी बांस्तोलाका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तिम समयसम्म प्रयास गरेको स्रोत बताउंछ ।

वरियतामा १९ नम्बरमा रहेका र विवादित पृष्ठभुमिका एसएसपी अशोक सिंहलाई भने बढुवाको ३ नम्बर सूचीमा राखिएको छ । उनलाई एक नम्बरमा ल्याउने प्रयास थियो । तर, एक नम्बरमा ल्याउन सम्भव नभएपछी उनलाई ३ नम्बरमा ल्याइएको हो । सिंहकै लागि लामो समय बढुवा रोकिएको थियो । गृहमन्त्री बालकृष्ण खांड उनलाई एक नम्बर ल्याउन नहुने पक्षमा थिए । तर, बालुवाटारबाट भने उनलाई अघि ल्याउन चर्को दबाव थियो । यही लडाईका कारण प्रहरीमा डिआईजी बढुवा लामो समय रोकिएको हो ।

कुंवरलाई प्रहरी महानिरीक्षक सिंहले समेत अघि ल्याउन जोडबल गरेका हुन् । ‘दुई नम्बरमा रहेका राईलाई चलाउन नसक्ने एक नम्बरका भण्डारीको शक्ति नपुग्ने,सिंहलाई एक नम्बरमा ल्याउन नसकिने अवस्थाको फाइदा कुवंरलाई भयो ।’ गृहस्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

अहिलेको डिआईजी बढुवामा एसएसपी सिंहलाई अघि ल्याउनुको पछाडी उनलाई एआईजी विश्वराज पोखरेलको ठाउंमा एआईजी बनाउने तयारी भएको स्रोतको दावी छ । पोखरेल आगामी साउन २० मा एआईजीबाट अनिवार्य अवकास पाउंदैछन् । यद्यपी उनको अदालतमा मुद्दा चलिरहेको छ । तर, अहिलेकै अवस्थामा उनले साउनमा एआईजीबाटै अवकास पाउनेछन् । उनको रिक्त पदमा सिंहलाई एआईजी बनाउने र अहिलेका महानिरीक्षकपछी आईजीपी बनाउने खेल रहेको छ । त्यस खेलमा प्रधानमन्त्री देउवाका आफन्त संलग्न रहेका छन् ।

सिंह काठमाण्डौं प्रहरी प्रमुख हुंदा जुवाखालमा चोरी भएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै उनलाई कारबाही सिफारिस भएको थियो । नेपाल प्रहरीका डिआईजी राजेशलाल कर्ण नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा उनलाई कारबाही गर्न सिफारिस गरेको हो । त्यतीमात्र होईन उनको पृष्ठभुमि समेत राम्रो नभएको उनकै ट्रयाक रेकर्डले देखाउंछ । यति हुंदा हुंदै उनलाई प्रधानमन्त्री पत्नी आरजु राणा र उनका भाई भुषण राणाको जोडबलमा अघि ल्याइएको हो ।

नेपाल प्रहरीमा हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी चैत्र १० मा अवकास पाएपछी अहिले डिआईजी हुनेमध्येबाट भावी प्रहरी महानिरीक्षक बन्ने भएकाले बढुवामा सकस भएको हो । अहिलेको ब्याचबाट आईजीपी बन्ने अधिकृत नै यही नियम रहेको खण्डमा आगामी ०८१ चैत्र ४ सम्म आईजीपीको पदमा बस्नेछ ।

प्रहरीमा लामो समयदेखी डिआईजीको पद रिक्त भएपनि गृहमन्त्री बालकृष्ण खांड, प्रहरी महानिरीक्षक सिंह र बालुवाटारबीच कुरा नमिल्दा बढुवा लामो समयदेखी रोकिएको हो । गृहमन्त्री खांड प्रहरीको बढुवा र सरुवामा बालुवाटारको अघि निरिह बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement