काठमाण्डु – संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको हाे।
शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । इन्धनका कारण जनजीवन महँगिदा उपभोक्ता मारमा परेकोले सो निर्देशन दिइएको संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।
यस सम्बन्धमा शुक्रबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल भएको थियो ।
हाल निगमले १३१ रूपैयाँ ९१ पैसामा भारतीय आयल कर्पोरेसनबाट पेट्रोल किनिरहेको छ। निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १९९ रूपैयाँमा बिक्री गरिरहेको छ। यसमा १३ रूपैयाँ ५८ पैसा घाटा भएको निगमको भनाइ छ ।
समितिको असार ६ गते बसेको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न उपायको खोजीको गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो। हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ र एलपीजी ग्यासमा प्रतिसिलिन्डर ३२९ रुपैयाँ कर लाग्दै आएको छ ।




प्रतिक्रिया