काठमाण्डु – ललितपुरको एकान्तकुनामा एक डाक्टर ट्राफिक प्रहरीबाट कुटिएका छन् ।
पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई आइतबार राति ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन् । ड्युटी सकेर कुसुन्ती घर फर्किरहेका बेला बाटोमै हिडिरहेका उनीमाथि कुटपिट भएको हो ।
आफूले चिकित्सकको परिचयपत्र देखाउँदा पनि रक्ताम्मे हुने गरी कुटपिट गरेको उनको भनाइ छ । कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ पुगेको उनले बताए । घटनाबारे बताएपछि घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगिएको छ ।
घिसिङको अहिले उपचार भइरहेको छ । नाकमा फ्याक्चर भएको बताए पनि अपरेशन नै गर्नुपर्ने अवस्था नभएको अस्पतालले जनाएको छ । उनी र उनका आफन्तले घटनामा संलग्न ट्राफिक प्रहरी जवानलाई कारबाहीको माग गरेका छन् । साथै उपचार खर्च दिलाउन पनि माग गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले त्यसरी कुटपिट गर्ने ट्राफिक प्रहरी थापामाथि कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको बताए ।
‘घिसिङ हिँडिरहेका बेला ट्राफिक प्रहरीसँग ठोक्किएको र यसरी किन हिँडेको भन्ने कुरा भएपछि विवाद भएको रहेछ । विवाद हुँदा भिडिओ बनाउन लागेपछि मोबाइल खोस्नेक्रममा चोट लागेको भनेका छन्,’ शाहले भने, ‘डाक्टरको नाकमा चोट लागेको छ । प्रहरीलाई कारबाही गर्ने काम अगाडि बढिसकेको छ ।’
यसअघि पनि ड्युटीमा खटिएका प्रहरीका फोटो–भिडिओ खिच्दा फोन, क्यामरा लगायत खोस्ने गरेको घटना भएको शाहले बताए ।






प्रतिक्रिया