काठमाण्डु – अबिरल बर्षाको कारण विभिन्न स्थानमा डुवानमा परेका २८८ घरका करीब ९३४ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।
सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो । साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माले जानकारी दिए ।
उनका अनुसार भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीको टाेलीले बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको छ ।
मोरङको कटहरी गाँउपालिका–१ स्थित टाईगर टोलका डुवान प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका–१ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरीको नम्बर ३ गण मोरङबाट खटिएको टोलीले सुरक्षित स्थानमा सार्नुका साथै खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।




प्रतिक्रिया