काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकामा खेल मैदान निर्माण कार्य सुरु भएको छ । आलिताल गाउँपालिका-८ घुम्ती बजार नजिकै खेल मैदान निर्माण कार्य थालिएको हो । असार ८ गते एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरासहित प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट र वडा नं ८ का अध्यक्ष धनबहादुर देउवाले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका थिए ।
९० लाखको लागतमा निर्माण भइरहेको उक्त खेल मैदानप्रति स्थानीय बासिन्दाहरूले भने विरोध जनाएका छन् । उक्त निर्माणाधीन खेल मैदान खोलाले बगाउने सम्भावना रहेको स्थानीयहरुको गुनासो छ । खेल मैदान खोलाको किनारमा नै बनिरहेको हुनाले वर्षायाम लागेसँगै बग्ने सम्भावना रहेको हो । सुन खोलाको नजिकै बन्दै गरेको उक्त खेलमैदानको छेउमा नै रङ्गुन नदि छ ।
खोलै खालाको बिचमा खेल मैदानको निर्माण सुरु गर्नुमा जनप्रतिनिधिहरूको स्वार्थ रहेको युवा समाजसेवी मोहन धामी बताउँछन् । ‘ आलितालमा खेलाडि हरुको लागि खेलमैदान बनाउनु पर्छ । यस ठाउँबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्छ तर खेलकुदको नाममा बजेट दुरुपयोग गर्न भने हामी सचेत युवा भएको कारण दिदैनौँ ।’, उनले भने । आलिताल गाउँपालिकामा खेल मैदान निर्माणको लागि अरु ठाउँहरू भएको पनि धामीले दावी गरे । उनले अन्य ठाउँ भएपनि खोला नजिकै खेल मैदानको निर्माण कार्य सुरु गरिएको बताए ।
‘आलितालमा खेलमैदानको लागि अरु धेरै ठाउँहरू छन् । तर अन्य ठाउँमा रूखहरू छन् भनेर खेलमैदान बनाउन बाधक भयो भन्न मिल्दैन, बिना अनुमति तस्करी गर्ने नियतले रूख काटे पक्कै पनि कानुनले रोक लगाउँछ । कानुनी प्रक्रिया पुरा गरेर रूख काटेर भएपनि दीर्घकालिन रूपमा खेलमैदान बनाउन सकिन्छ । तर बगाउँछ भन्ने थाहा पाएर नै खोलाको बीचमा खेलमैदान बनाउनु भनेको खेलकुदको नाममा बजेट कुम्ल्याउने बाहेक अन्य केही होइन् ।’, उनले भने ।
खोलामा बजेट हालेर दुरुपयोग गर्नु भन्दा जनताको चाहना अनुसार उपयुक्त ठाउँको छनोट गरेर खेलमैदान बनाउन उनले जनप्रतिनिधिहरूलाई सुझाब समेत दिएका छन् । ‘ जनताको चाहना अनुसार खोलामा बजेट हालेर दुरुपयोग गर्नु भन्दा उपयुक्त ठाउँको छनोट गरेर खेलमैदान बनाउन हामी सुझाब दिन चाहन्छौँ होइन भने जनताले माफी दिने छैनन् ।’, धामीले भने ।
खेल मैदानको बारेमा नकरात्मक भ्रम फैलाइयो : अध्यक्ष शेरसिंह पार्की
आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले उक्त निर्माणाधीन खेल मैदानको बारेमा नकरात्मक भ्रम फैलाइएको काठमाण्डुपाटीलाई बताएका छन् । अध्यक्ष पार्कीले एकदमै उपयुक्त ठाउँमा खेल मैदान निर्माणकाे कार्य सुरु भइरहेको बताएका हुन् । उनले उक्त खेल मैदानलाई खोलाले बगाउने सम्भावना नै नरहेको दावी गरे । ‘जुन आलिताल गाउँपालिकामा निर्माणाधीन खेल मैदानको विरोध भइरहेको छ ।
त्यसको विरोध गर्नुपर्ने कुनै पनि कारण छैन् । खोलाको नजिकै खेलमैदान निर्माण गरिन लागेको कुरा सत्य हो । तर खोलाको बिचमै खेल मैदान बनाउन लागियो भन्ने कुरा भने झुटो हो । हामीले सहमतिमै उक्त ठाउँ छनोट गरेका हौँ । त्यो ठाउँ खेल मैदानको लागि उपयुक्त छ ।’, उनले भने ।
त्यसैगरी अध्यक्ष पार्कीले खेल मैदानमा आएको बजेट खोलामा हाल्ने आफूहरूको कुनै पनि नियत नभएको बताए । उनले सुरक्षित र उपयुक्त ठाउँमा नै खेल मैदान बनाउन लागिए पनि केहीले विरोध जनाएको दावी गरे । अध्यक्ष पार्कीले उक्त खेल मैदानको विरोध नगर्न पनि सम्पुर्णमा आग्रह गरेका छन् ।
‘ म पनि नवनिर्वाचित आलिताल गाउँपालिकाको अध्यक्ष हुँ । यहाँको हेरक क्षेत्रको विकास गर्नु मेरो जिम्मेवारी र कर्तव्य हो । के हामी खोलाको बीचमा बजेट हाल्नको लागि मुर्ख हौँ ? त्यो खेल मैदान एकदमै उपयुक्त ठाउँमा भइरहेको छ । तर पनि केही विकास बिरोधिहरुले भ्रम फैलाई रहेका छन् । म उहाँहरुलाई पनि राम्रो कामप्रति विरोध र भ्रमात्मक कुरा नफैलाउन आग्रह गर्दछु।’, अध्यक्ष पार्कीले भने ।




प्रतिक्रिया