अर्थमन्त्रीले राजीनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थमन्त्रीले राजीनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिए पछि अनिश्चितकालका लागि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका छन् । अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने पनि उनले बताएको स्रोतको दावी छ ।

बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्मालेमन्त्रालयमा प्रवेश गराएको आरोप छ ।

त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।