असन्तुष्टिको जालोमा माओवादी केन्द्र,…त्यसपछि प्रचण्ड भए ‘असिन-पसिन’

असन्तुष्टिको जालोमा माओवादी केन्द्र,…त्यसपछि प्रचण्ड भए ‘असिन-पसिन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार सकियो । काठमाण्डुमा तीन दिनसम्म चलेको बैठक कार्यसूचीमा रहेका कतिपय कामहरू अपूरै अवस्थामा छाडेर सम्पन्न भएको छ ।

बिहीबार राजधानीको प्रज्ञा भवनमा बसेको अन्तिम दिनको बैठकले बाँकी रहेका सबै कमिटीका पदाधिकारीको नाम टुंग्याउने अपेक्षा थियो । केन्द्रीय समिति यसअघि नै टुंग्याएका अध्यक्ष प्रचण्डले सुरुमा आफ्नो राजनीतिक प्रतिवेदनमाथि लामो ब्याख्या गरे ।

गत १८ र १९ असारमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि आएका सबै सुझावहरूको जवाफ दिए । तर कार्यकर्ताको अपेक्षा अनुकुल पदाधिकारी टुङ्ग्याउने काम भने गर्न सकेनन् ।

प्रचण्डको जवाफपछि उत्साहित हुँदै प्रतिवेदन पास भएको घोषणा बैठक हलबाट भयो । उपस्थित केन्द्रीय कमिटी सदस्यहरु त्यसमा सन्तुष्ट हुन सकेनन् । त्यसपछि पोलिटब्युरोका सदस्यको नाम बोकेर प्रचण्ड हलभित्र छिरे । गत पुसमै ८ औं महाधिवेशन सकेको माओवादीले शीर्ष कमिटीको टुंगो लगाउन नसक्दा पार्टीभित्रबाटै विरोधका आवाजहरू सुनिन थालिसकेका थिए ।

पहिलो दिनको केन्द्रीय कमिटी बैठकमा नै पदाधिकारी चयन हुनुपर्ने दबाब खेपेका प्रचण्ड जसरी पनि यही बैठकबाट नेताहरुलाई साम्य पार्ने मुडमा थिए। तर, पोलिटब्युरोको नाम पढिसकेपछि पनि प्रचण्डले असन्तुष्ट नेताहरुलाई साम्य पार्न सकेनन्। उनीहरुमा थप असन्तुष्टि थपिएको सबैले महसुस गरेका थिए ।

परिवारवाद हावी भएको भन्दै हलबाटै नेताहरुले असन्तुष्टि जनाइरहेका थिए । अध्यक्ष प्रचण्डको परिवारबाटै ४ जनाको नाम पोलिटब्यूरो सदस्यमा थियो । सोही असन्तुष्टि साम्य पार्न उनले दुईपटक पोलिटब्युरोका सदस्यहरुको नाम पढेर सुनाए। तैपनि प्रचण्डलाई फ्लोरबाट ‘चेतावनी’ आइरह्यो।

प्रचण्डले वाचन गरेको सूची समावेशी नभएको, भौगोलिकता समावेश नभएको, परिवारवाद हाबी भएको लगायतका असन्तुष्टि केन्द्रीय सदस्यबाट आउन थाले । काभ्रे जिल्लाबाट एकजना पनि पोलिटब्युरोमा नपरेको भन्दै नेता सूर्यमान दोङले आक्रमक शैलीमा असन्तुष्टि जनाए, त्यसपछि भने प्रचण्ड झस्किएका थिए ।

‘हामीले के गल्ती गर्यौ, काभ्रे जिल्लाले के गल्ती गर्यो ? बरु एक घन्टा रोकेर भए पनि १ सय २५ जनाको नाम क्लियर गर्नुस,’ सूर्यमानले बैठकमा आक्रोशित हुँदै भनेका थिए ।

केन्द्रीय सदस्यबाट निरन्तर पोलिटब्युरोबारे असन्तुष्टि आइरहँदा मञ्चमा रहेका प्रचण्ड केहीबेर ‘असिन–पसिन’ भएका थिए । प्रचण्डलाई फ्लोरबाटै एक केन्द्रीय सदस्यले त ‘कमरेड यो सूची तपाईं आफैले बनाउनुभएको त हो ?’ भन्दै प्रश्न गरेका थिए ।

कतिपयले जनयुद्धको पृष्ठभूमिबाट आएका नेताहरुलाई पाखा लगाइएको गुनासो गरेका थिए । फ्लोरबाट निरन्तर दबाब झेल्न नसकेपछि प्रचण्डले एक्कासी बैठक स्थगित गरेका थिए ।

खासमा प्रचण्डले बैठकस्थलमा आफूले दुईवटा ‘डायरी’ बोकेका कारणले अलमलमा परेको स्पष्टिकरण दिएका थिए । तर, बैठकस्थलमा उपस्थित केन्द्रीय सदस्य भने त्यो कुरा मान्न तयार छैनन्।

एकजना केन्द्रीय सदस्यले आक्रोशित हुँदै भने, ‘सूचीमा कतिबेला के फेरबदल भयो प्रचण्ड आफैँलाई थाहा छैन्, परिवारका सदस्य राख्नु छ त अनि कसरी फाइनल लिस्ट बोकेर आउँछन्।’

बिहीबार बिहान बैठकस्थल प्रवेश गर्दैगर्दा महासचिवका दावेदार वर्षमान पुनले आजै पदाधिकारी टुंगो लगाउने बताएका थिए। तर, प्रचण्डले पदाधिकारीको नाम टुंग्याउन सकेनन्।

उनले यता नेकपाकालिन १५ नेतालाई समेट्दै उनले ४१ सदस्यीय स्थायी कमिटीको घोषणा गरे । विधानतः ४१ सदस्यीय स्थायी कमिटी हुनपर्नेमा बाँकी सदस्यहरु केही दिनमा सबै पक्षलाई समेटेर टुंग्याउने आश्वासन दिए ।

प्रचण्डले आफूसँग पदाधिकारीका सबै सदस्यको नाम भएपनि अहिले नै पढ्न नलगाउनका लागि अनुरोध गरेका थिए ।
सबै सदस्यहरुको अनुहार उज्यालो बनाउनेगरी केही दिनमा पदाधिकारी टुंग्याउने आश्वासन दिएर प्रचण्डले बैठक समापन गरेका थिए ।

तीन दिनसम्म चलेको बैठकले न त कार्यकतर्ता तथा नेताहरूको भनाइ सम्बोधन गर्यो न त सन्तुष्टि नै । बैठकले केवल अलमल र असन्तुष्टी पैदा गरेर सकिएको एक नेताले बताए ।