काठमाण्डु – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा सडक पिच गरेको एक साता नबित्दै धमाधम उप्कन थालेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा हालै निर्माण भएको सडक भत्किन थालेको हो ।
पिच गरेको सडकमा कतै खाल्डा पर्ने, कतै गिट्टि उप्किने भएको छ भने कतै किनारा तर्फको भागसमेत भत्किन सुरु भएको छ । भौतिक पूर्वाधार कार्यालय मातहत ठेक्का डपलभर्सले निर्माण गरेको ५ सय ८० मिटर पिच सडक उप्कन थालेपछि स्थानीय वासीहरुले विरोध जनाएका छन् । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुणस्तरहीन काम गरेको स्थानीय समाजसेवी तथा शिक्षक केशवबहादुर साउँदले काठमाण्डुपाटीलाई बताए ।
बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेकोसमेत उनले दावी गरे । यस्तो कमसल सडक सफा गरेर पुनः निर्माण गर्नुपर्ने साउँदको भनाई छ ।
‘सडकमा गुणस्तरहीन र कमसल काम भइरहेको भन्दै हामीले प्राविधिकलाई धेरै पटक भनेका थियौँ । हाम्रो कुरा मान्ने भन्दा पनि उल्टै हामीलाई धम्क्याउने काम भयो । मन्त्रीको दबाबका कारण यहाँ सडक निर्माण भइरहेको छ । तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले हकारे,’ उनले भने ।
सरकारले शुलभ डेभलपर्स कम्पनीलाई कालो सुचीमा राख्नुपर्ने पनि साउँदले माग गरेका छन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीका भाइ प्रकाश नेगीले सडक निर्माणको ठेक्का पाएका हुन् । उनीसँगै ठेकेदारको रूपमा टेकेन्द्रप्रसाद भट्ट पनि लागिरहेका थिए । भट्ट शुक्लाफाँटा नगरपालिकाका कर्मचारी हुन् । उनी नगरपालिकाको योजना शाखामा सवइन्जिनियरको जिम्मेवारीमा छन् ।
पूर्वाधार विकास कार्यालय प्रमुखका भाई र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय हुनुपर्नेमा गुणस्तरहीन भएको भन्दै स्थानीयले दुवै निकायप्रति विरोध जनाएका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले भने पारिवारिक सम्बन्धका कारण ठेक्का नदिएको जिकिर गरे ।
अनलाइन माध्यमबाट ठेक्का गर्दा निष्पक्ष हुने नेगीको भनाई छ । ‘उहाँ मेरो भाइ हो तर, भाइ भएकै कारण ठेक्का पाएको भन्ने कुरा गलत हो । अनलाइन माध्यमबाट ठेक्का गर्दा निष्पक्ष हुन्छ, त्यसैले हामीले अनलाइन माध्यमबाट ठेक्का दिएका हौ ।’
भत्केको ठाउँमा पुन मर्मत गर्छौँ : ठेकेदार भट्ट
ठेकेदारको रूपमा रहेका टेकेन्द्रप्रसाद भट्ट भने गुणस्तरी काम भएकाे बताउँछन् । उनले सडक निर्माणको काम चलिरहेकै बेला पानी परेर, गाईवस्तुको गोबरले दुई तिन ठाउँमा पिच भत्किएको दावी गरे।
सडक पिच गरेको एक साता नबित्दै धमाधम उप्किन थालेछ । यो कस्तो खालको पिच गर्नु भएको हो ? भन्ने काठमाण्डुपाटीको प्रश्नमा भट्टले भने, ‘हामीले काम गरेको अन्य ठाउँमा पनि हेर्नुहोस् । अन्य ठाउँमा पिच भत्किएको छैन् । तर यस ठाउमा भने केही कारणले मात्र यस्तो भएको हो । काम चलिरहेकै बेला, गाइबस्तु, ट्याक्टर र मानिसहरूको आवतजावतले गर्दा दुई चार ठाउँमा पिच भत्किएको हो । ’
नाफा कमाउने उद्देश्यले सडक पिच गरियो भन्ने आरोप छ । यसलाई स्विकार्नु हुन्छ की नाई ? भन्ने प्रश्नमा उनले भने, ‘ होइन । हाम्रो दायित्व भनेको जसरी भएपनि राम्रो काम गर्नु हो । त्यसकारण हामी त्यस्तो बेइमानी गर्दैनौँ । म दावीका साथ भन्न चाहान्छु । त्यस्तो चलखेल भएको छैन् । बरु हिसाव देखाउन तयार छु । ’
उनले पिच उप्किएको ठाउँमा पुन मर्मत गर्ने बताए । ‘हामी निरन्तर सडक निर्माणको काममा लागिरहेको छौँ । तर पानी परिरहेका कारण हामीले काम गर्न सकिरहेका छैनौँ । अब घाम लागेको बेला भत्किएको ठाउँमा मर्मत गर्छौैँ ’, उनले भने ।
स्थानीय वासीहरु विरोधमा उत्रिएपछि शुक्लाफाँटाका नगर प्रमुख (मेयर) रणबहादुर महरा पनि कालोपत्रे सडकको निरीक्षण गर्न पुगे । स्थानीयले भत्किन थालेको कालोपत्रे सडकबारे मेयरलाई गुनासो गरेका थिए । अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए ।




प्रतिक्रिया